काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले लोकतन्त्रलाई बलियो बनाउन सुशासन र समृद्धि आवश्यक पर्ने बताएका छन् ।
नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाः गोरखा जिल्ला समितिको तेस्रो जिल्ला सम्मेलन कार्यक्रमलाई आज सदरमुकाममा सम्बोधन गर्दै उनले लोकतन्त्रको रक्षा गर्न सामाजिक, आर्थिक रुपान्तरण आवश्यक रहेको बताएका हुन् ।
‘सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने बेला आएको छ,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘लामो समयदेखि राज्य र समाजमा भ्रष्टाचारले जरा गाडेर बसेका कारण विकासले गुणात्मक फड्को मार्न सकिरहेको छैन ।’
उनले अहिलेको विकासको गतिले जनताको आवश्यकता पूरा गर्न नसक्ने बताए । ‘आर्थिक रुपान्तरण र विकासको काम मात्रामात्रामा गरेर हुँदैन । यति ठूलो युगान्तकारी परिवर्तन राजनीतिक क्षेत्रमा त भयो तर विकासका क्षेत्रमा भने जुनसुकै सरकार जुनसुकै राजनीतिक दल आए पनि अलिअलि हुने विकासले अब हुँदैन विकासमा गुणात्मक फड्को मार्नुपर्छ,’– उनले भने ।
लोकतन्त्रवादी शक्तिले यथास्थितीवाद र प्रतिगमनलाई सँगसँगै परास्त गरेर अघि बढ्नुपर्ने बेला आएको भन्दै उनले अनि मात्र सामाजिक, आर्थिक रुपान्तरणको ढोका खोल्न सकिने बताए । उपाध्यक्ष श्रेष्ठले जनताको आशा र अपेक्षाको रूपमा हेर्दै आएको माओवादी केन्द्रले पनि आफूलाई रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको औँल्याए ।
सबै नेपालीको पहिचान र अधिकार स्थापित गरियो भनेमात्र नेपालीको राष्ट्रियता बलियो हुने उनको भनाइ छ । ‘हामीले आफ्नो पहिचानलाई गर्ववोधका साथ लिन र हाम्रो भाषा, संस्कृति एवं परम्पराको रक्षा गर्नलाई अगाडि बढ्न आवश्यक छ,’ उनले भने, ‘मनमा कसैले पनि हिनतावोध लिएर बस्नु हुँदैन ।’
नेपालको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र राष्ट्रियहितको रक्षा गर्दै सबैले नेपाली हुनुमा गर्व गर्नुपर्नेमा उनले जोड दिए । श्रेष्ठले पछिल्लो समय पार्टीले सुदृढीकरण अभियान चलाउन सुरु गरेपछि माओवादी बलियो बन्दै दाबीसमेत गरे ।
प्रतिक्रिया