जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्वान पुर्खाका सन्तान भएकाले नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त रहेको बताएका छन् ।
राजर्षी जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति ओलीले नेपालका विश्वविद्यालयबाट दीक्षित विद्यार्थीहरुले संसारको जुनसुकै विश्वविद्यालयमा गएर प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यक्त गरेका हुन् ।
‘नेपाल ज्ञानको भूमि हो । शैव र विश्वामित्रजस्ता पुरानो सभ्यता भएको मुलुक हो। विश्वको पहिलो आयुर्वेदाचार्य चरक ऋषि यही देशका हुन् । न्यूट्रनले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाउनुअघि हाम्रा भाष्कराचार्यले ‘सिद्धान्त शिरोमणि’ पुस्तक विसं १२१० मा निकालेका थिए।’ कुलपति ओलीले भने, ‘पूर्वीय दर्शन अन्धविश्वासमा आधारित हो भन्ने भ्रम दिन खोजिएको छ, त्यो सही छैन । यो त सिद्धान्त हो। अनुभूति, अनुभव र ज्ञानको संग्रहबाट सिद्धान्त बन्छ भन्ने आधारमा यो दर्शन रहेको छ । यस दर्शनका हिमायतीहरु विश्वमा कमजोर हुन सक्दैनन्।’
प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीलाई मेहनत गरेमा सफलता हात लाग्ने र रुचिको विषय पढ्ने अवसर प्राप्त भएमा हरेक विद्यार्थीले आफूभित्रको सम्भाव्यता प्रस्फुटित गराउने सक्ने धारणा राखे । ‘तपाईहरुले यहाँ पाएको ज्ञान र दीक्षाका आधारमा तपाईँहरु संसारको जुनसुकै विश्वविद्यालयमा प्रतिस्पधार्मा जान सक्नुहुन्छ। तपाईहरुमा म पठित छु भन्ने घमण्ड होइन, मानवता र करुणाको भावना हुनुपर्छ । विद्याले विनयशीलता विनयशीलताले राम्रो पात्रता, पात्रताले धन र धनले सुख दिन्छ’ प्रधानमन्त्री ओलीको सन्देश थियो।
प्रधानमन्त्र्री ओलीले राजर्षि जनक विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण ११४ विद्यार्थीलाई आज दीक्षित गरेका छन् । सो विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले जनकपुरधाममा आयोजित प्रथम दीक्षान्त समारोहमा सो विश्वविद्यालयबाट गत तीन वर्षदेखि उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षित गरेका हुन् । सो अवसरमा उनले विश्वविद्यालयमा उत्कृष्ट हुने चार जना र विभिन्न संकाय तथा शैक्षिक कार्यक्रममा उत्कृष्ट हुने १० जना विद्यार्थीहरुलाई पदक समेत प्रदान गरे।
यसैगरी सोही समारोहमा वरिष्ठ साहित्यकार प्रा डा राजेन्द्र विमलले उत्कृष्ट विद्यार्थीहरुलाई प्रमाणपत्र तथा ‘मेडल’ प्रदान गरेका थिए। समारोहमा प्रा डा विमलले आफूले सिकेको ज्ञान तथा सीपलाई राष्ट्र र समाजको सेवामा इमानदारीपूर्वक लगाउन विधार्थीहरुलाई आग्रह गरे। विश्वविद्यालयका उपकुलपति डा. अमरप्रसाद यादवले प्रथम दीक्षान्त समारोह ऐतिहासिक रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध विश्वविद्यालयलाई आवश्यक सहयोगका लागि आग्रह गरे । यसैगगरी रजिष्ट्रार सत्यनारायण साहले गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको राजर्षि जनक विश्वविद्यालय मधेसवासीका लागि गौरवको विषय भएको बताए।
सो विश्वविधालयमा हाल मानविकी र कानुन, विज्ञान प्रविधि तथा इञ्जिनियरिङ, स्वास्थ्य र व्यवस्थापन गरी चार संकायअन्तर्गत १३ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन् । देशको पाँचवटा प्रदेशका १९ जिल्लामा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालित विभिन्न क्याम्पसहरूमा करिब एक हजार ७०० विद्यार्थी अध्ययनरत रहेको उपकुलपति प्रा डा यादवले जानकारी दिए ।
अहिले सो विश्वविद्यालयको मातहतमा आङ्गिक पाँच र सम्बन्धन प्राप्त ६९ गरी ७४ वटा क्याम्पस रहेको डा. यादवले बताए ।
सो विश्वविद्यालयमा एमफिल, एमबिए, बिबिए, बिडिए, बिइ–सिभिल, बिआइटी, बीएससी–सिएसआइटी, बिपिएच, बिएससी–एमएलटी, बिएससी–एजी, बिए–एलएलवी तथा बिजेएमसीजस्ता शैक्षिक कार्यक्रम अध्ययन–अध्यापन हुने उपकुलपति डा. यादवले जानकारी दिए।
धार्मिक एवं सांस्कृतिक नगरी जनकपुरधाममा अवस्थित यस विश्वविद्यालयको स्थापना २०७४ कात्तिक १२ गते भएको थियो। समारोहमा विश्वविद्यालयका पदाधिकारीहरूले आफ्नो भवन नभएकाले सहज र व्यवस्थित ढङ्गबाट कामकाज गर्न समस्या भएको गुनासो गरे। दीक्षान्त समारोहअघि प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति ओलीको अध्यक्षतामा ‘सिनेट’ को बैठक बसेको थियो।












प्रतिक्रिया