ड्यालस (अमेरिका) । दक्षिण अमेरिका महादेशका दुई देशमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को तदर्थ समिति गठन भएको छ ।
दक्षिण अमेरिकाको ब्राजिल र कोलम्बियामा पहिलोपटक एनआरएनएको तदर्थ समिति गठन भएको हो । संघका अमेरिका क्षेत्रीय संयोजक वेदराज बस्नेतका अनुसार ती दुई देशहरुमा नेपालीहरुको संख्या उल्लेख्यरुपमा रहेकोले तदर्थ समिति गठन गरेर संगठित गरिएको हो ।
कोलम्बियामा छत्रबहादुर मैनाली र ब्राजिलमा सन्देश लामिछानेलाई तदर्थ समितिको अध्यक्ष तोकिएको छ । मैनाली लामो समयदेखि कोलम्बियामा रहेर व्यवसाय गर्दै आएका नेपाली हुन् ।
कोलम्बियाको तदर्थ समितिका पदाधिकारीहरुमा लालबहादुर गुरूङ, सुन्दर तामाङ, धनबहादुर तामाङ, प्रेमबहादुर क्षेत्री र मिथुन थापा क्रमशः उपाध्यक्ष, सचिव, उपसचिव र कोषाध्यक्ष रहेका छन् । त्यस्तै सदस्यहरुमा जीतबहादुर गुरूङ, कमल शर्मा र महिला सदस्यमा प्रविना राई छन् । संघको सल्लाहकारहरुमा हर्कमान गुरूङ र उमेश थापा रहेको समेत संघले जनाएको छ ।
‘हामी यहाँ निकै थोरै नेपालीहरु छौँ । यति थोरैका बीच पनि एकआपसमा भेटघाट, चिनजान, सहयोग आदान प्रदानका लागि एनआरएनए गठन गरेका हौँ’ तदर्थ समितिका अध्यक्ष मैनालीले हिमालयखबरसँग भने ।
उता ब्राजिलको तदर्थ समितिमा साहस चौधरी, कृष्ण मास्की, शंकर बास्कोटा, हरिकृष्ण रेग्मी र बबिता गुरूङ क्रमशः उपाध्यक्ष, महासचिव, सचिव, उपसचिव र कोषध्यक्ष रहेका छन् । त्यस्तै सदस्यहरुमा रिताकुमारी गोले, प्रदीप चौधरी र महिला सदस्यमा तारा गैरे रहेका छन् । तदर्थ समितिको सल्लाहकारहरुमा डा। कृष्ण पाठक र राम बस्नेत चयन भएका छन् ।
्ब्राजिल र कोलम्बिया पछिल्लो समयमा नेपालीहरु गैरकानुनी रुपबाट अमेरिका पस्न आउने मार्गमा पर्ने देशका रुपमा परिचित छन् । जसलाई ‘तल्लोबाटो’ भनेर चिनिन्छ । तर, संघमा आवद्ध हुनका लागि ती देशहरुमा कानुनीरुपमा बसेको र वैधानिक व्यक्ति मात्र हुनुपर्ने प्रावधान छ ।
पछिल्लो समयमा अमेरिका आउने क्रममा पानमाले फर्काएका थुप्रै नेपालीहरु कोलम्बियामा रोकिएका छन् । तर, तिनीहरुको कुनै पनि वैधानिक स्टाटस नहुने भएकोले एनआरएनको सदस्य नरहेकोसमेत मैनालीले जानकारी दिए ।
प्रतिक्रिया