नेपाल

एकीकृत समाजवादीद्वारा कानुनविद्हरूसँग छलफल

एकीकृत समाजवादीद्वारा कानुनविद्हरूसँग छलफल


शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर गरिएको मुद्दाका विषयमा शीर्ष नेताहरूसहित कानुनविद्सँग छलफल गरेको छ ।

पार्टीले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणसम्बन्धी विषयमा कानुनविद्सँग छलफल गरेको हो । मन्त्रिपरिषद्को नीतिगत निर्णय गर्ने तत्कालीन कानुनी व्यवस्था, पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणसम्बन्धी निर्णयको भावना, निर्णयपछि हालसम्मको अवस्था, त्यस प्रक्रियामा प्रयोग गरिएका कानुनी आधारलगायत विषयमा छलफल गरेको हो ।

Advertisement

अख्तियारको क्षेत्राधिकार, अख्तियारले मुद्दा दायर गर्नका कारण, त्यसको कानुनी उपचारबारे समीक्षा गरिएको पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए । अदालतमा पुगेको विषयको निरुपण अदालतबाट नै हुने बताउँदै महासचिव भुसालले न्यायालयबाट न्याय प्राप्त हुने विश्वास व्यक्त गरे।

आयोगले लगाएको अभियोग प्रतिरक्षाका लागि कानुनी उपचारमा जाने आधार रहेको कानुनविद्हरूले सुझाव दिएको पार्टीले जनाएको छ ।

आयोगले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अध्यक्ष नेपालसहित ९३ जना दोषी ठहर गर्दै रु १८ करोडमाथिको बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।