काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु रहेको बताएका छन् । नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको आज ललितपुरमा उद्घाटन गर्दै उनले लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई बलियो बनाउन कार्यशैलीमा सुधार गर्नुपर्ने बताए ।
‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु परिवर्तनका विषयमा भएको समिट महत्त्वपूर्ण छ, लोकतन्त्रमा चुनौती थपिएको देख्छु, लोकतान्त्रिक शासनमा जनताको अभिमत बलियो हुनुपर्छ, लोकतन्त्र कमजोर हुँदा प्रेस स्वतन्त्रता कमजोर हुन्छ,’– उनले भने ।
लोकतन्त्र र प्रेस स्वतन्त्रताबीच अन्तर सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री गुरुङले प्रेस स्वतन्त्रताबाट समाज कसरी लाभान्वित हुन्छ भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । ‘अनलाइनबाट गलत सूचना सम्प्रेषण भइरहेको छ, यसलाई नियन्त्रण गर्न चुनौतीपूर्ण छ । धार्मिक सहिष्णुता, सांस्कृतिक विविधतामाथि सामाजिक सञ्जालबाट गलत सूचना प्रवाह गरेर लोकतन्त्रलाई कमजोर पार्नेहरुविरुद्ध सम्पूर्ण सञ्चारजगत् एकजुट हुनुपर्छ,’– उनले भने ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री उनले जलवायु परिवर्तनको असर रोेक्न एकीकृत ढङ्गले काम गर्नुपर्ने बताए । ‘हामीले काम गर्दा कुनै नेता वा पार्टी विशेषको स्वार्थमा परेर काम गर्नु हुँदैन, हामीले जनताका आवश्यकताका आधारमा विकास– निर्माणका काम गर्नुपर्छ । यसले लोकतन्त्रलाई सुदृढ बनाउँछ,’– उनले भने ।
मन्त्री गुरुङले विधिको शासन स्थापना र निष्पक्ष पत्रकारितामा जोड दिँदै मिडिया काउन्सिल विधेयकमा स्वनियमनको दायरामा अनलाइन मिडियालाई ल्याउनेगरी प्रबन्ध भइरहेको जानकारी दिए । ‘प्रेस भन्नेबित्तिकै छापामाध्यमलाई बढी बुझ्ने गरिन्छ, अनलाइन माध्यम पनि प्रेस नै हो, अनलाइन माध्यमबाट समस्या भएको छ,’– उनले भने ।
गत महिना २० करोडभन्दा बढी ठगी भएको दृष्टान्त प्रस्तुत गर्दै उनले सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भएको बताए । सञ्चार तथा सूचना प्रविधिमन्त्रीले जलवायु परिवर्तनको प्रत्यक्ष असर हेर्ने ठाउँ लोमान्थाङ हो भन्दै यो समिट महत्त्वपूर्ण भएको बताए ।
प्रतिक्रिया