आज वैशाख २१ गते अर्थात् हिमालय खबर मिडियाको विशेष दिन । हामी आजदेखि १४औँ वर्ष पूरा गरी १५औँ वसन्तमा पाइला टेक्दैछौँ । स्थापनाकालदेखि नै देशविदेशका खबर निष्पक्षरुपमा प्रवाह गर्दै आएको यस मिडिया अविरलरुपमा आफ्नो यात्रामा लम्किरहेको छ । विश्वभर पत्रकारिता व्यवसायले चुनौतीहरु सामना गर्नुपरेको अवस्था हामीले पनि भोगिरहेका छौँ । सञ्चार माध्यम व्यावसायिक हुनका लागि चाहिने स्रोत साधन हामीसँग अझै पनि पर्याप्त छैन । तर पनि पत्रकारिताको मूल्य र मर्मसँग हामीले कहिले पनि सम्झौता गरेनौँ । र, गर्दैनौँ पनि ।
हामीले सुरूवाती अवस्थादेखि नै नेपाली समुदायका मुद्दालाई उठान गर्दै नेपाली समुदायको हितमा सूचना र समाचार दिन सधैँ सक्रिय भइरहेका छौँ । हामी नेपाली समुदायका मुद्दा उठाउँदै नेपाली समुदायको सुखदुःखमा सारथिका रुपमा आफूलाई उभ्याउन सफल भएका छौँ । आगामी दिनमा पनि विचलित नभईकन राष्ट्र, राष्ट्रियता, प्रवासका मुद्दा, नेपाली नागरिकता बहस, प्रेस स्वतन्त्रता, मुलुकको आर्थिक सुधार र सुशासनका पक्षमा आफ्नो आवाज बुलन्द गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
नेपालमा व्यवस्था फेरिए पनि अवस्था फेरिन सकेको छैन । पात्र परिवर्तन भए पनि प्रवृत्ति परिवर्तन भएको छैन । पत्रकारिता जगत्को पनि संघर्षपश्चात् बनेको संविधानले प्रेस स्वतन्त्रताको प्रत्याभूति गरे पनि व्यवहारिकरुपमा पत्रकारिता क्षेत्र सुरक्षित बन्न सकेको छैन । राज्यले प्रेस स्वतन्त्रताको सम्मान गर्ने प्रतिबद्धता जनाइरहँदा अझै पनि राज्यका निकायबाटै प्रेसमाथि आक्रमण भइरहेको छ । राज्यका विविध प्रतिकूलताबीच पनि हिमालय खबरले सूचना र समाचारहरु पाठकहरुमाझ सम्प्रेषित गराउने अभिभारा पूरा गर्दै आएको छ ।
अहिले स्वदेश र विदेशमा बस्ने आमनेपालीमा निराशा व्याप्त छ । नेपालमा बस्ने वातावरण नै छैन भन्ने भाष्य सिर्जना गरिएको छ । सामाजिक सञ्जालमा व्यक्त हुने यस्ताखाले भाष्यले स्वदेश र विदेशमा बस्नेहरुलाई खल्लो बनाएको छ । जो जहाँ बसे पनि हाम्रो प्राथमिकता मातृभूमिको रक्षा र समृद्ध देश निर्माणको लागि नै हो । विदेशमा बस्ने नेपालीले कमाएको पैसा पठाएर देशको अर्थतन्त्रलाई योगदान दिइरहका छन् । रेमिट्यान्स मात्रले देशको आर्थिक विकास हुँदैन । नेपालीलाई देशमा आउने वातावरण बनाउनुपर्छ । नेपालीले सिकेका सीप, कमाएका आर्थिक स्रोत र लगानी गर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्छ । त्यसका लागि स्थिर सरकार, सुशासन र लगानीमैत्री वातावरण चाहिन्छ । सर्वप्रथम नेपालमा केही हुँदैन भन्ने भाष्य चिरेर सकारात्मक र सिर्जनशील बन्नेतर्फ हरेक चेतनशील युवाहरु लाग्नुपर्छ । विदेश पलायन विकल्प होइन, विदेशबाट स्वदेश फर्किने वातावरण बनाउनुचाहिँ सबैको निर्विकल्प लक्ष्य हुनुपर्छ ।
पछिल्लो समय पत्रकारिता समाज रुपान्तरणको प्रमुख माध्यम बनेको छ । सामाजिक न्यायका लागि हामीले आवाजविहीनको आवाज बनाउनेतर्फ उत्तिकै ध्यान दिएका छौँ । आगामी दिनहरुमा पनि सामाजिक मूल्यमान्यतालाई प्राथमिकतामा राख्दै देश र जनताको न्यायका लागि सधैँ समर्पित भइरहने प्रतिबद्धता व्यक्त गर्दछौँ । देशविदेशमा रहेर हाम्रो यस अभियानमा विभिन्न माध्यमबाट सहकार्य गर्दै आउनुभएका आम पाठकवर्ग, लेखक, पत्रकार, विज्ञापनदाता तथा समस्त शुभेच्छुकहरुमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि हिमालय खबरप्रतिको माया र सद्भाव अटुटरुपमा अगाडि बढिरहोस् भन्ने कामना गर्दछौँ ।
प्रतिक्रिया