गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका निम्ति मुआब्जा निर्धारण गरिएको छ । गोरखाको चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधि, प्रवर्द्धक कम्पनी साहस ऊर्जाका प्रतिनिधि र स्थानीयको सहभागितामा मुआब्जा निर्धारण गरिएको हो ।
साहस ऊर्जाका प्रबन्ध निर्देशक हिम पाठकका अनुसार, बाँध निर्माणस्थल चुमनुब्री–३ स्थित सल्लेरी बस्ती क्षेत्रका जग्गाको प्रतिआना तीन लाख रुपैयाँ कायम गरिएको छ । “चार आनाभन्दा कम जग्गा हुनेको हकमा भने प्रतिआना चार लाख र बस्तीभन्दा बाहिर प्रतिआना एक लाख ५० हजार रुपैयाँ मुआब्जा निर्धारण भएको छ ।” उनका अनुसार, करिब ८० रोपनीको मुआब्जा दिनुपर्ने आकलन गरिएको छ ।
उक्त भेलाबाट घरको मूल्यांकन भने गरिएको छैन । गाउँपालिकाका प्राविधिकले तयार गरेको प्रतिवेदनका आधारमा घरको मुआब्जा निर्धारण गरिने पाठकले जानकारी दिए । आयोजनाबाट २६ घरधुरी विस्थापित हुने भएका छन् ।
विस्थापित हुनेको पुनर्स्थापनाका विषयमा पनि छलफल भइरहेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । “डुबानका कारण विस्थापित हुनेहरू कसैलाई फिलिममा, कसैलाई जगतमा पुनर्स्थापित गर्ने विषयमा छलफल भइरहेको छ, तर निर्णय भइसकेको छैन,” लामाले भने ।
गाउँपालिकाका अध्यक्ष लामा, उपाध्यक्ष लक्ष्मी गुरुङ, चुमनुब्री–२ का वडाध्यक्ष रामकुमार गुरुङ, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)का प्रतिनिधि, सल्लेरी, भालुवन, जगत, नाग्चेतका बासिन्दालगायत व्यक्ति मुआब्जा निर्धारण भेलामा उपस्थित थिए ।
अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) प्रविधिको ३४१ मेगावाट क्षमताको उक्त आयोजना निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो परियोजना हो । साहस ऊर्जाले सल्लेरीमा बाँध निर्माण गर्नेछ । त्यहाँबाट ६.८ किलोमिटर भूमिगत सुरुङ हुँदै धार्चे गाउँपालिका–३ मा रहेको तातोपानीस्थित पावरहाउसमा विद्युत् उत्पादन गरिनेछ ।
उत्पादित विद्युत् ४५ किलोमिटर लामो प्रसारणलाइनमार्फत नुवाकोटको रातामाटे सबस्टेसनबाट केन्द्रीय प्रसारणलाइनमा जोडिनेछ । आयोजनाको कुल लागत ७० अर्ब रुपैयाँ निर्धारित छ ।
प्रतिक्रिया