मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

निजी क्षेत्रको सहभागिता र सक्रियताबाट मात्र आर्थिक विकास सम्भव : परराष्ट्रमन्त्री

निजी क्षेत्रको सहभागिता र सक्रियताबाट मात्र आर्थिक विकास सम्भव : परराष्ट्रमन्त्री

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्थिक विकास र प्रगतिको आकाङ्क्षा निजी क्षेत्रको सहभागिता र सक्रियताबाट मात्र सम्भव भएको बताएकी छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस २०८१ लाई सम्बोधन गर्दै उनले स्रोतको अभावको बाबजुद पनि आर्थिक विकासको जनआकाङ्क्षा पूरा गर्न वर्तमान सरकार ठूला पूर्वाधार निर्माण र स्तरोन्नतिमा केन्द्रित भएको बताइन् ।

“आर्थिक विकास र समृद्धिको बाधकका रूपमा देखिएको राजनीतिक अस्थिरतालाई चिर्न वर्तमान सरकार गठन भएको हो”, मन्त्री राणाले भनिन् । उनले सरकार गठनपश्चात निजी क्षेत्रलाई सहजीकरण गर्न विभिन्न नीतिगत तथा कानुनी जटिलता फुकाइएको उल्लेख गरिन् ।

आर्थिक नीतिको सुधार एवं प्रगतिलाई तीव्र बनाउन वर्तमान सरकार अत्यन्तै संवदेनशील भएर अघि बढिरहेको जानकारी दिँदै परराष्ट्रमन्त्रीले निजी क्षेत्रलाई समृद्धिको यात्रामा प्रोत्साहित गरिरहेको स्पष्ट पारिन् । उनले मुलुक राजनीतिक स्थिरतासँगै आर्थिक विकासको बाटोमा अघि बढिरहेका बेला अस्थिरताको वातावरण कसैले पनि बनाउन नहुनेमा जोड दिइन् ।

पछिल्लो समय वैदेशिक सहायता केही कमी भएकामा निरुत्साहित हुन जरूरी नरहेको औँल्याउँदै उनले आन्तरिक तथा बाह्य लगानीका लागि उपयुक्त वातावरण बनाएर जानसक्नुपर्ने धारणा राखिन् । “यो सरकार बनेदेखि नै आर्थिक समृद्धिका बाधक ऐन, कानुन परिमार्जन गर्ने प्रक्रिया अघि बढेको छ”, उनले भनिन्, “असल शासन र निजी क्षेत्रले काम गर्ने वातावरण बनेन भने मुलुकले समृद्धि हासिल गर्न सक्दैन, तसर्थ राजनीतिक दल, कर्मचारी र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ ।”

सो अवसरमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले लिनुपर्ने बताए । उनले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न पाउने विषय पहिलो प्राथमिकता हुनुपर्ने बताए । अर्थतन्त्र, विकास र समृद्धिमा राजनीतिक दलहरूको साझा धारणा बनाउनुपर्नेमा उनको जोड थियो ।

अध्यक्ष ढकालले विगतमा सरकारले चाहिनेभन्दा बढी सतर्कता अपनाउँदा अर्थतन्त्र सङ्कुचन भएको उल्लेख गर्दै उहाँले त्यतिबेला बजारको माग नियन्त्रण गर्न अपनाइएका ती नीतिगत निर्णयले बजारलाई अझैसम्म चलायमान हुन नदिएको धारणा राखे ।

“म निराशा हैन आशा छर्न चाहन्छु । अवस्था सुधारोन्मुख छ । तर हाम्रा युवाहरुको चाहना पूरा गर्न अहिलेको सुधार पर्याप्त छैन । जबसम्म हामी देशभित्रै मर्यादित र उच्च ज्यालासहितको रोजगारीका अवसरहरू सृजना गर्न सक्दैनौँ, निराशालाई आशामा बदल्न सकिँदैन । अहिले व्याप्त निराशा त्यसैको परिणाम हो”, उनले भने ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका उद्यमी व्यवसायीलाई सम्मान गरेका थिए । कार्यक्रममा गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, उच्चपदस्थ सरकारी कर्मचारी, निजी क्षेत्रका विभिन्न सङ्घ संस्थाका प्रमुखलगायत सहभागी थिए ।