मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

चोरी भई अमेरिका पुगेका २१ वटा पुरातात्त्विक महत्त्वका वस्तु फिर्ता

चोरी भई अमेरिका पुगेका २१ वटा पुरातात्त्विक महत्त्वका वस्तु फिर्ता

अमेरिकाबाट फिर्ता ल्याइएका २१ वटा मूर्ति पाटन सङ्ग्रहालयलाई हस्तान्तरण गदै उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे ।

शेयर गर्नुहोस:

297
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालबाट विगतमा चोरी भएर अमेरिका पुर्‍याइएका २१ वटा पुरातात्त्विक महत्त्वका कलात्मक वस्तु नेपाल फिर्ता गरिएको छ । यीमध्ये तीनवटा पौवा चित्र (१५–१८औँ शताब्दी) काठमाडौँस्थित इटुम्बहालबाट विसं २०३७ मा हराएका थिए ।

एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति (नवौँ शताब्दी) बुङ्मतीको मच्छिन्द्रबहाल परिसरको चैत्यबाट हराएको थियो । साथै आर्ट इन्ष्टिच्युट सिकागोबाट फिर्ता भएको पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुछलिन्द बुद्धको मूर्ति थान–१ (१२/१३ औँ शताब्दी) तथा अन्य १६ थान कलात्मक वस्तु (९–१९औँ शताब्दी) पनि नेपालका विभिन्न ठाउँबाट हराएर अमेरिका पुर्‍याइएको थियो ।

Advertisement

अमेरिकाका विभिन्न सङ्ग्रहालय, अक्सन हाउस तथा व्यक्तिगत सङ्ग्रहमा रहेका उक्त वस्तु संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित घरबास सुरक्षा अनुसन्धान विभाग न्यूयोर्क एवं म्यानहटन जिल्ला न्यायधिवक्ताको कार्यालय न्यूयोर्कको सहयोगमा ती सामग्री प्राप्त भएको विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले जानकारी दिए ।

ती सामग्री संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित नेपाली वाणिज्यदूतावासका कार्यवाहक महाबाणिज्यदूत चक्रकुमार सुवेदीलाई फागुन १६ गते हस्तान्तरण गरिएको थियो । यी कलात्मक वस्तुको उत्पत्तिस्थल नेपाल भएको भनी यस विभागबाट प्रमाणित गरेपछि अन्तरराष्ट्रिय कानुनअनुसार नेपाल फिर्ता भएको पनि उनले बताए ।

पुरातात्त्विक महत्त्वका कलात्मक वस्तु फिर्ता गराउन नेपाल सम्पदा पुनःस्थापना अभियान, आर्ट इन्ष्टिच्युट अफ सिकागो, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय र अर्थमन्त्रालय, प्रहरी प्रधान कार्यालय (इन्टरपोल शाखा) नक्साल, नेपालस्थित अमेरिकन राजदूतावास, लस्ट्स् आर्ट्स् अफ नेपाल, केशचन्द्र महाविहार संरक्षण समाज, इटुम्बहालले पनि सहयोग गरेको विभागले जनाएको छ । यी कलात्मक वस्तु अमेरिकाबाट नेपालसम्म ल्याउन न्यूयोर्कस्थित नेवाः गुठीले आर्थिक सहयोग गरेको जनाइएको छ ।

गुठीप्रति विभागले धन्यवाद व्यक्त गर्दै प्रशंसा पत्र पनि प्रदान गरेको छ । यसमा संलग्न सबैलाई विभागले धन्यवाद पनि दिएको छ । सांस्कृतिक कलाकृतिको दृष्टिले नेपाल प्राचीन कालदेखि नै समृद्ध छ । प्राचीन कालदेखिकै परम्परागत कलाकृति नेपालमा छन् । यहाँका लिच्छवि र मध्यकालीन कलाकृति विशिष्ट र विश्व प्रसिद्ध छन् । यही प्रसिद्धि र कलात्मक विशिष्टताको कारणले यी वस्तु विगतकालदेखि नै चोरीनिकासी हुने गरेको देखिन्छ । सन् १९५० पछि पूर्र्वी नेपालबाट केकति सांस्कृतिक सम्पदा बाहिरिए त्यसको अभिलेख नपाइएको विभागले जनाएको छ ।

सन् १९५० पछि यी सम्पदाको चोरी निकासी पनि तीव्र भएको थियो । समयक्रमसँगै चोरिएका मूर्तिको उत्पत्ति स्थलमा हुने महत्त्व र उक्त स्थलमा बसोबास गर्ने मानिसको मूर्तिप्रतिको धार्मिक र सांस्कृक्तिक आस्थाका कारणले यस्ता मूर्ति यथास्थानमै प्रतिस्थापन गर्नुपर्छ भन्ने मान्यता हाल विश्वव्यापी रुपमा विकास भएको छ ।

यसबाहेक विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनले समेत चोरी भएर विदेशिएका यस्ता कलात्मक वस्तु उत्पत्तिको मुलुकमा फिर्ता गर्नुपर्ने व्यवस्था गरेको छ । यसले गर्दा नेपालभन्दा बाहिर गैरकानूनी रुपमा निकासी भएका सांस्कृतिक सम्पदा फिर्ता हुन थालेका छन् । सन् १९८६ देखि नेपालबाट हराएका पुरातात्त्विक तथा कलात्मक वस्तु विदेशबाट फर्कने प्रकियाको सुरुआत भएको छ ।

हालसम्म बेलायत, अष्ट्रिया, अमेरिका, चीन (तिब्बत), भारत, जर्मनी, अष्ट्रेलिया र इटलीबाट जम्मा १७७ वटा पुरातात्विक महत्वका मूर्ति तथा कलात्मक वस्तु विभिन्न राष्ट्रिय अन्तरराष्ट्रिय व्यक्ति तथा सङ्घ संस्थाको प्रयासबाट नेपाल फिर्ता भइसकेका छन् ।

अमेरिका, फ्रान्स, बेलायत, चीन, अष्ट्रिया, अष्ट्रेलियाजस्ता देशबाट थप अरु केही कलावस्तु फिर्ताका लागि कूटनीतिक पहल भइरहेको पनि विभागले जनाएको छ । संयुक्त राज्य अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएका पुरातात्विक महत्व भएका वस्तुको सङ्ख्या १०४ पुगेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

शेयर गर्नुहोस:

297
Shares