नवलपुर । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा अन्तर्राष्ट्रिय दातृ निकायहरुको सहयोग रोकिने जोखिम बढेको बताएका छन् । पाण्डेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय निर्णयहरुका कारण अमेरिकाबाट प्राप्त हुने सहयोगमात्रै नभई अन्य मित्रराष्ट्रबाट प्राप्त हुने अनुदानहरुसमेत कटौतीको जोखिम बढेको बताए ।
सोमबार एमाले नवलपुर प्रचार विभागले गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले ट्रम्पको निर्णयले युएसएआइडी र एमसिसी परियोजनामा प्रत्यक्ष असर परेको उल्लेख गरे ।
‘युएसएआइडीको सहयोगमा भइरहेका कामहरु रोकिनेमात्रै होइन एमसिसीको दायित्व नेपालले वहन गर्नुपर्ने अन्योलतासमेत सृजना भएको छ’, पाण्डेले भने, ‘यदि एमसिसी पनि रोकियो भने ठेक्का त भइसक्यो, कि त हामीले ठेक्काअनुसारको भुक्तानी दिएर काम सम्पन्न गर्नुप¥यो कि त ठेक्का रद्द गर्दा क्षतिपूर्ति व्यहोर्नुपर्ने हुन्छ ।’
ट्रम्प प्रशासनको निर्णयहरुका कारण युरोपियन युनियनका राष्ट्रहरुमा पनि अन्योलता पैदा भएको भन्दै उनले राष्ट्रिय सुरक्षा, रोजगारी सृजनालगायतमा युरोपका राष्ट्रहरु केन्द्रित बन्दा नेपाललाई ती राष्ट्रहरुले गर्ने सहयोग पनि कटौती हुन सक्ने जोखिम रहेको बताए ।
अन्तर्राष्ट्रिय सहयोगबिना नै हामीले सबै काम गर्न सक्छौँ भन्ने स्थितिमा नेपाल नरहेको उनले बताए । राजस्व सङ्कलन गत आर्थिक वर्षभन्दा पनि कम हुने स्थिति अहिले रहेको भन्दै अन्तर्राष्ट्रिय सहयोग रोकिने, राजस्व सङ्कलनमा कमी आउने अवस्थामा पुँजीगत खर्च गत आर्थिक वर्षभन्दा न्यून हुने प्रक्षेपण पाण्डेले गरे ।
उनले भाषणमा भन्ने र कागजमा लेख्ने गरेर समाजवाद प्राप्त हुन नसक्ने भन्दै उत्पादन र आर्थिक गतिविधिको माध्यमबाट मात्रै समाजवादको लक्ष्य प्राप्त हुने बताए । अहिले विश्वव्यापीरुपमा देखिएको व्यापार युद्ध फरक तरिकाले अगाडि बढिरहेको भन्दै उनले समयअनुसार नेपाललाई आर्थिकरुपमा सबल बनाउनतर्फ केन्द्रित बन्नुपर्ने बताए ।











प्रतिक्रिया