धनगढी । पत्रकार दीर्घराज उपाध्यायको ‘आमा म आउँदैछु’ कवितासङ्ग्रह धनगढीमा विमोचन गरिएको छ ।
मंगलबार धनगढीमा आयोजित विमोचन समारोहमा साहित्यकार डा. नवराज लम्साल, सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिष्ट्रार डा. हेमराज पन्त, सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठक, साहित्यकार श्रेष्ठ प्रिया पत्थर, ऐश्वर्य प्रकाशनका अध्यक्ष गणेश जोशीले संयुक्तरुपमा कवितासङ्ग्रहको विमोचन गरेका हुन् ।
प्रमुखअतिथि साहित्यकार डा. लम्सालले कवि उपाध्यायले कोरोना महामारी र द्वन्द्वको क्रममा देखिएका आक्रोश र पीडा कविता सङ्ग्रहमा समेटिएको बताए ।
उनले कवितासङ्ग्रह आर्थिक विकास र परिवर्तनका लागि शङ्खघोष हुनसक्ने बताए ।
लम्सालले धनगढीमा हुर्किएर पनि देश विदेश नियाल्न सक्ने कलममा तागत भएको व्यक्ति उपाध्याय रहेको बताए । कवि लम्सालले धनगढीमा सामान्य अवस्थाबाट पत्रकारिता सुरू गरेका उपाध्यायले आफूलाई परिष्कृत गर्दै बृहत्तर पहिचान बनाएकोमा धगढीवासीले गर्व गर्नुपर्ने बताए ।
उनले अढाई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय उपाध्यायले समाचारमा लेख्न र समेट्न नसकिएका मर्मस्पर्शी विषयवस्तुहरुलाई कविताका उतारेको बताए ।
‘उपाध्यायका कवितामा देश प्रेम छ । समाजका कुरीति, विसंगतिहरुमाथि उनले तिखो प्रहार गरेका छन्’, मदनपुरस्कार बिजेता लम्सालले भने, ‘कवि उपाध्यायले कवितामा बिचार मात्र लेखेका छैनन् । हृदय लेखेका छन् । र, समाजको चेत र चेतना लेखेका छन् ।’
त्यस्तै, सुदूरपश्चिम क्याम्पसका पूर्वरजिष्ट्रार डा. पन्तले पत्रकारिताका माध्यमबाट सुदूरपश्चिमको विकास र समृद्धिका सवालमा सधैँ कलम चलाउँदै आएका उपाध्यायले कोभिडमा नागरिकको जीवन रक्षाका लागि गरेको मानवीय कार्य प्रशंसनीय भएको बताए ।
प्राडा. पन्तले उपाध्यायको कवितामा प्रेम, सद्भाव र समाजमा भएका विकृतिमाथि चोटिलो प्रहार गरिएको बताए ।
पुस्तकमाथि टिप्पणी गर्दै कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक सीताराम भट्टले उपाध्यायका कवितामा कोभिडमा नागरिकले भोगेको पीडा, राज्यको अकर्मण्यता, राजनीतिका विसंगतिसँगै प्रेम समेटिएको बताए ।
उनले अढाई दशकदेखि पत्रकारितामा सक्रिय उपाध्यायले पत्रकारितासँगै साहित्य र सामाजिक कार्यमार्फत सुदूरपश्चिममा ठूलो योगदान पुर्याएको चर्चा गरे ।
उनले नेपाली साहित्यमा उपाध्यायको कृति एउटा गतिलो सम्पत्तिका रुपमा दर्ज हुने बताए ।
समालोचक भट्टले यही समाजमा घटित घटनाक्रमहरुलाई उपाध्यायले कवितामा उतारेको बताए ।
उनले राजनीति गर्नेहरुले समाजका लागिभन्दा आफू र परिवारको स्वार्थका लागि काम गरिरहेकोले त्यो आक्रोश एउटा कविमनले कवितामार्फत चित्रण गरको बताएका छन् ।
पत्रकार उपाध्यायले गत भदौमा द्वन्द्व पत्रकारिताको एकदशक नामक कृति बजारमा ल्याएका थिए । उपाध्यायको यो चौथो कृति हो । यसअघि उनको एउटा कवितासंग्रह, एउटा गजलसंग्रह र द्वन्द्व पत्रकारिताको एक दशक पुस्तक प्रकाशित छ ।
उपाध्यायले मुलुकले भोगेका विपत्ति, नागरिकका पीडा, विकृत राजनीति, समय र परिवेशबाट उद्देलित भएर कवितामा भावनाहरु प्रस्फुटित भएको बताए ।
उनले कोभिड महामारी र द्वन्द्वको क्रममा मुलुक र नागरिकले भोगेको व्यथा पनि कवितामा उतारेको बताए ।
ऐश्वर्य प्रकाशन प्रालिका अध्यक्ष गणेशप्रसाद जोशीले उपाध्यायद्वारा लिखित एउटा ओजिलो साहित्यिक कृति प्रकाशन गर्न पाउँदा खुशी व्यक्त गरे ।
जोशीको अध्यक्षतामा सम्पन्न विमोचन समारोहमा वरिष्ठ साहित्यकार श्रेष्ठ प्रिया पत्थर र वरिष्ठ पत्रकार टीकाराम यात्रीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विमोचन कार्यक्रममा लेखक, साहित्यकार, राजनीतिकर्मी, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया