मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   
विचार / ब्लग    

राष्ट्रिय स्वतन्त्र पार्टी : नयाँ बोतलमा पुरानो रक्सी !

राष्ट्रिय स्वतन्त्र पार्टी : नयाँ बोतलमा पुरानो रक्सी !

हिमालय खबर

शेयर गर्नुहोस:

567
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वि लामिछाने नेपालको राजनीतिमा नआउँदैदेखिको चर्चित नाम हो । फरकखालको टेलिभिजन कार्यक्रम सञ्चालन गर्नेदेखि आफ्नै सहकर्मीको आत्महत्यामा दुरुत्साहन मुद्दा लागेदेखि उनका विवादास्पद विगतले उनको पदचाप पछ्याइरहेको छ । आफ्नै सहकर्मीको आत्महत्याको दुरुत्साहन मुद्दामा चितवन हिरासतमा रहँदा उनको जीवनले फरक धार लियो । चितवनलगायत आसपासका क्षेत्रको उल्लेखनीय जनताको निरन्तर प्रदर्शनपछि उनी सो मुद्दामा धरौटीमा रिहा भएका थिए । भव्य कार्यक्रममार्फत ग्यालेक्सी टेलिभिजन खोलेका रवि लामिछाने छोटो समयमा नै सो टेलिभिजन छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीको नामबाट राजनीतिमा होमिए । पुराना परम्परागत दलबाट दिक्क भएका जनताको लागि राष्ट्रिय स्वतन्त्र पार्टी एउटा गतिलो विकल्प भयो र पार्टी खोलेको छ महिनाभन्दा छोटो अवधिमा २० सिटसहित चौथो ठूलो दलको रुपमा उदायो ।

-अमृत वस्ती

विगतदेखि नै नेपालको राजनीति ठीक ढङ्गबाट चलेको छैन । २००७ सालसम्म त राणा शासन नै थियो त्यो बेलाको राजनीति काटमार र हत्यामा नै अडेको थियो । प्रजातन्त्रपछि पनि राजा महेन्द्रको शासनकाल पनि नेपाली राजनीतिमा राम्रो मान्न सकिएन । जनताले ठूलो अपेक्षासहित २०४६ सालको जनआन्दोलनपछि संवैधानिक राजतन्त्रसहितको बहुदल आयो । तर, नयाँ संविधानको कार्यान्वयनसँगै २०५२ सालमा नेकपा माओवादीले सशस्त्र आन्दोलन सुरु गर्‍यो । २०५८ सालमा राजा वीरेन्द्र परिवारको हत्यापछि राजा बनेका ज्ञानेन्द्रको महत्त्वाकाङ्क्षा बढेपछि भने नेपालको राजनीतिले सबैभन्दा संकटको सामना गर्न पुग्यो । सशस्त्र युद्ध सञ्चालन गरिरहेको माओवादी र राजाले पाखा लगाएका राजनैतिक दलहरु एकठाउँमा आएपछि २०६२/०६३ को दोस्रो जनआन्दोनले राजतन्त्रको अन्य र गणतन्त्रको स्थापना गर्‍यो ।

राजनैतिक परिवर्तन सकिएको र अब आर्थिक क्रान्ति गर्ने भनेका दलहरुले संविधान निर्माण गर्नमा नै दस वर्ष बिताए । २०७३ सालमा संविधान बनेपछि झनै सरकारहरु बन्ने र ढल्ने क्रम तीव्र भए । नेपालमा संविधान जारी भएपछि मात्र छ वर्षका बीचमा मात्र पाँचवटा सरकार बनिसकेका छन् । पुराना पार्टीहरुको अलोकप्रियता बढिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई राजनीतिमा छाउन मलजल भएको थियो । यसै परिवेशमा राष्ट्रिय स्वतन्त्र पार्टी उदायो र प्रतिस्पर्धामा खरोरूपमा उत्रियो ।
जान्नेलाई छान्ने, रास्वपाको मूल मन्त्र रहेको उक्त पार्टीले जनाएको छ । हतारहतार चुनावमा होमिएको चुनावमा समेत उसले सम्मानजनको मत पायो । पार्टी खुलेको छ महिनामा नै २० सिटसहितको चौथो ठूलो दल हुनु भनेको राजनीतिमा सानो घटना होइन । जसरी राजनीतिमा सफल भएर उदाए त्यति नै सभापति रवि लामिछानेको विवादित विगतले रास्वपालाई निरन्तर लखेटिरहेको छ ।

दोहोरो नागरिकताको मुद्दालाई बल्लबल्ल पाखा लगाएका रवि लामिछानेलाई हाल सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दाले पिंधमा नै पुर्‍याएको छ । पोखराकेन्द्रित उनको अनुसन्धानले उनलाई रातारात बुटवल, चितवन, पर्साको यात्रा गराइसकेको छ । योसँगै उनकी पत्नी निकिता र स्वयं रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरणकोे मुद्दासमेत दायर भएको छ । यो लेख तयार गर्दासम्म रवि लामिछानेको थुनछेकको बहस पोखरा जिल्ला अदालतमा चलिरहेको छ र यो क्रम थप जिल्लाहरुमा समेत निरन्तर चलिरहने छ । सरकारले तयार पारेको मुद्दाको प्रकृति हेर्दा उनी छुट्नेभन्दा पुर्पक्षमा थुनामा नै पठाउने सम्भावना प्रबल रहेको छ ।

पूर्व टेलिभिजनकर्मी रविको मूलधारका सञ्चार गृहमाथिको विष बमनले झनै उनलाई अफ्ठ्यारो पार्दै गइरहेको छ । आफू गृहमन्त्री हुँदा कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिनुले उनमा रहेको सञ्चार गृहमाथिको दूराभाव प्रष्ट हुन्छ ।

मान्छेबाट जानअञ्जानमा गल्ती हुन्छ । र, भएका गल्ती स्वकार गरी भविष्यमा गल्ती नदोहार्‍याउनु नै इमान्दारिता हो । अन्य दलमा नैतिकताको प्रश्न उठाउँदै राजनीतिमा आएको नयाँ दलले पनि नैतिकता देखाउनु नै पर्दछ । सहकारी ठगीजस्तो जघन्य अपराधमा पार्टीको नेतृत्व नै अनुसन्धानमा रहँदासमेत रवि लामिछानेले अनुसन्धानमा रहने समयसम्मका लागि सभापति पद छाडेर अरु उपसभापतिहरुलाई कार्यवाहक छाड्न सकेका थिएनन् । भलै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएपछि भने उनको पार्टीले डिपी अर्याललाई कार्यवाहक तोकेको छ । तर, उपसभापति नै रवि बाँचेसम्म पार्टीको सभापति रवि नै हो भन्दैछन् । उनले हिरासतबाटै पार्टी सञ्चालन गरिरहेका छन् । पुरानालाई इमान्दारिता भएन भनेर पाठ पढाउनेहरुले आफूमा पनि इमान्दारिता झल्काउन सक्नु पर्दथ्यो । नभए नयाँ र पुरानोमा फरक के नै भयो र ?

रास्वपाको नयाँ यात्रामा पुरानो दलको रङ्ग देखिएको यो मात्र होइन । सत्ता लोलुपतामा पनि पुरानाभन्दा कुनै मानेमा पनि कम देखिएन । जनताले प्रष्ट २० सिट दिएर विपक्षमा बस्न म्यान्डेट दिएका हुन् । तर, उनै रवि लामिछाने आफैँ सरकारमा जान हतारिनु, त्यसमा पनि तेस्रो तहको भए पनि उपप्रधानमन्त्री नै चाहिनु र गृहमन्त्री नै हुने लालसा देखिनुले उनमा सत्ता लोलुपता प्रष्टैसँग देखियो । आफू भए सरकारमा रहने अन्यथा पार्टी नै सरकारबाट हट्नुपर्ने यस्तो निर्णय गर्दा उनीहरुमा पनि पुराना दलको भन्दा धेरै सत्ता लालसा देखियो । यसले पनि रास्वपा नामले मात्र नयाँ देखियो व्यवहारमा कत्ति पनि देखिएन ।

यतिमात्र होइन, रास्वपा गठन भएको छोटो समयमा नै जिल्ला जिल्लामा संगठन नबन्दै भद्रगोल अवस्थामा पुगेको छ । संगठनमा अनुशासनको अभाव छ । यही सांगठानिक भद्रगोलले यस उपचुनावमा महत्त्वपूर्ण क्षेत्रमा समेत उमेदवारी दिन सकेन । अधिकांश क्षेत्रमा जनमतसमेत जफत भयो । पार्टीभित्र धेरै गुट उपगुट देखिएको छ । पार्टी संगठनभन्दा व्यक्ति शक्तिशाली देखिएको छ । पार्टीमा देखिएको भद्रगोलका कारण मुख्य कार्यकारी पदहरु कार्यवाहकको भरमा चलेको छ । हाल रास्वपामा सभापति, महामन्त्रीदेखि प्रवक्तासमेत कार्यवाहकको भरमा चलेको छ । एक पार्टीको लागि यो राम्रो संकेत होइन । यस्ता कारणहरुले रास्वपा पुरानोभन्दा फरक दल हुन सकेको छैन । सारमा ‘नयाँ दल नयाँ बोतलमा पुरानो रक्सी’ मात्र भएको छ ।

छोटो समयमा नै जनताको आशा लिएर उदयमान पार्टीको यो ओरालो यात्राले जनताको आशाको किरणमा धमिलो छाया पारेको छ । राजनैतिक दल भीडले मात्र नभई विचार, संगठनले चल्दछ । आजसम्म रास्वपाको राजनैतिक विचार के हो प्रष्ट छैन । राजनैतिक विचार के हो ? पुँजीवाद हो कि समाजवाद हो ? आर्थिक नीति के हो ? नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई रवि लामिछानेको पछि लाग्ने भीडभन्दा अलग राजनैतिक पार्टीको रुपमा स्थापित गरोस् । अब रास्वपा रवि लामिछानेको क्लब होइन कि समय छँदै अन्य दललाई नैतिकताको पाठ पढाउने र आफूमा पनि नैतिकता देखाउँदै व्यक्तिभन्दा पार्टी संगठनलाई प्रधान बनाउदै पार्टी सञ्चालन गरोस् । रास्वपालाई आगामी दिनको शुभकामना !

>>[email protected]