चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा पौष ११ देखि सुरू हुने चितवन हात्ती तया पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ । क्षेत्रीय होटल संघ चितवन सौराहाको आयोजनामा महोत्सवको १८औँ संस्करण बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा हुँदैछ ।
चितवनको पर्यटन विकासका लागि सौराहामा हरेक वर्ष हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नेछन् । महोत्सवलाई भव्य बनाउन प्रचारप्रसार, मैदान तथा आन्तरिक व्यवस्थापनको काम तीव्ररुपमा भइरहेको संघका महासचिव गुणराज थपलियाले जानकारी दिए ।
महोत्सवको अवसर पारेर व्यवसायीहरुले आन्तरिक तथा बाह्य पर्यटकका लागि १० प्रतिशत छूट दिने घोषणा गरेका छन् । व्यवसायीहरुले पौष १० देखि १६ गतेसम्म क्षेत्रीय होटल संघ नेपाल र रेवान सौराहामा आबद्ध सदस्यहरुको होटल तथा रेस्टुरेन्टमा खाना र आवासमा १० प्रतिशत छूटको व्यवस्था गरिएको संघका अध्यक्ष गंगा गिरीले बताए ।
जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रुपमा परिचित चितवनको पर्यटनलाई उकास्न संघको आयोजना, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लि. र रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह–आयोजनामा महोत्सव गर्न लागिएको हो ।
सौराहामा दुई दशकअघिदेखि आयोजना गर्दै आएको महोत्सवका कारण सौराहासहित चितवनमा हरेक वर्ष ४० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको अध्यक्ष गिरीले बताए । महोत्सवमा हुने गतिविधिले पर्यटन विकासको अलावा हात्तीको मह¤वसमेत उजागर गर्दै आएको भन्दै उनले अन्तर्राष्ट्रियस्तरमा महत्त्व राख्ने पर्यटन महोत्सवले आफ्नै गौरवशाली इतिहास बोकेको बताए ।
हात्ती महोत्सवअन्तर्गत हात्तीको श्रृङ्गार, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिकास्तरीय डुङ्गा दौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीहरुसँग वि.दु.वि गोष्ठी, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तर्क्रिया कार्यक्रम हुने कार्यक्रम संयोजक रामकुमार अर्यालले जानकारी दिए । उल्लेखित विभिन्न गतिविधिमा सरकारी र निजी गरी करिब ८० वटा हात्ती सहभागी हुने जनाइएको छ ।
हात्ती तथा पर्यटन महोत्सव नजिकिँदै गर्दा व्यवसायीहरुले सौराहालाई सिँगार्न थालेका छन् । सौराहाका मुख्य बजारहरुलाई आकर्षक बनाउने र होटल तथा रेस्टुरेन्टहरुलाई समेत सिँगार्न सुरू भइसकेको संघका सचिव महेश खनालले बताए ।
मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहामा वार्षिक तीन लाख ५० हजार पर्यटक आउने गरेका छन् । चितवन निकुञ्जको अवलोकन गर्ने कुल पर्यटकमध्ये ८० प्रतिशत सौराहाबाट निकुञ्ज प्रवेश गर्ने गरेका छन् । सौराहा आउने पर्यटकहरु गन्तव्य अवलोकनको अलावा हात्ती, जिप सफारी, बिसहजारी तालको अवलोकन तथा थारु संस्कृतिमा रमाउने गरेको संघका उपाध्यक्ष ओम पाण्डेले जानकारी दिए । सौराहामा १३० वटा होटल र ९० वटा रेस्टुरेन्ट छन् ।
प्रतिक्रिया