इजरायलले सिरियामाथि किन लगातार आक्रमण गरिरहेको छ ?
यो तथ्यमाथि विमर्श गर्नुपूर्व केही ऐतिहासिक र धार्मिक विश्वास बुझ्नुपर्ने हुन्छ । इतिहासमा यो युद्ध प्रथम विश्वयुद्ध अगाडिदेखि यहुदी र यूरोपियन क्रिश्चियनको बिचको युद्ध थियो । खासमा भन्दा यहुदीहरूले युरोपमा उत्पादन र उत्पादनका साधन जमिनलगायतमा आफ्नो कब्जा जमाउन थालेदेखि यहुदी-युरोप, यहुदी-हिटलर (कथित आर्यन) युद्ध हुँदै आएको थियो । दोस्रो विश्वयुद्ध पछि सन् १९४८ मा जब इजरायल देशको निर्माण भयो, त्यसपछि यो युद्ध यहुदी-मुसलमानबिचको युद्धका रूपमा परिणत भयो र आजसम्म जारी छ । यसैको एक कडी हो इजरायलको सिरियामाथिको हमला ।
को हुन् यहुदी ?
यसको लामो इतिहास छ । यो इतिहास आधुनिक इतिहास र धार्मिक इतिहास (विश्वास) दुवैसँग सम्बन्धित छ ।
यहुदी धर्म संसारकै प्राचीन धर्ममध्येकै सूचीमा पर्दछ । यो धर्मले अब्राहमलाई प्रथम व्यक्तिको रूपमा लिएको पाइन्छ । यो धर्म उत्पत्तिको प्रारम्भिक समय रेखा र घटनाक्रमलाई हेर्दा पैगम्बर इब्राहिम, उनका पुत्र आइज्याक, आइज्याकका पुत्र याकुव (जेकब, इजरायल), याकुवका पुत्र यहुदा, यसपछि हजरत मुसा, दाउद (डेभिड), सोलोमन (सुलेमान) आदि थुप्रै व्यक्तिहरूको योगदान रहेको छ ।
यसपछि अब्राहमका नाति याकुव वा इजरायलका १२ पुत्रहरू भए । यिनीहरूले अरबको त्यो भूमिमा १२ अलग अलग जनजाति वा कबिला बनाए । कसैले यसलाई इजरायलका १२ गोत्र पनि भन्दछन् । जे होस् इजरायलका १२ पुत्रहरू उनका वंशज भए ।
यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने माथि उल्लिखित इजरायलका १२ पुत्रहरूमध्ये सबैभन्दा प्रसिद्ध पुत्रको नाम यहुदा थियो । यहुदा कै वंशजहरू आजका यहुदीहरू हुन् । यहुदाका वंशज भएकोले यहुदी अथवा अंग्रेजीमा जुडाहा (Judah) भनिन्छ ।
याकुवको नाम इजरायल कसरी भयो ? एक दिन सपनामा याकुवले यहोवासँग युद्ध गरेको देखे । यसपछि यहोवाले याकुवको नाम इजरायल राखिदिए । इजरायलको अर्थ संसारभरि शासन गर्ने (To rule) हो । यहोवा यहुदी धर्मका ईश्वर हुन् ।
इजरायलको गठन र नामाकरण
सन् १९४८ मा औपचारिक रूपमा इजरायल देशको गठन भयो । त्योभन्दा अगाडि त्यो क्षेत्रलाई प्यालेस्टाइन (Palestine) भनिन्थ्यो । सन् १९४८ मा प्यालेस्टाइन क्षेत्रबाट एक हिस्सा छुट्टिएर यहुदीहरूको नयाँ देश बन्यो । यहुदीहरूको त्यो देशको नाम महात्मा याकुवको दोस्रो नाम “इजरायल”का सम्मानमा इजरायल नै राखियो । त्यसपछि यहोवाले त्यही क्षेत्रलाई तिमीहरूको पवित्र भूमि हुनेछ भनेर प्रतिज्ञा गरी आशीर्वाद दिएको तथ्य आंशिक रूपमा सत्य सावित भयो ।
यहुदीहरूको के धार्मिक मान्यता छ भने यहोवाले अब्राहम, आइज्याक र इजरायल तीनै जनालाई त्यो भूमिकोे स्वामित्वको प्रतिज्ञा गरेका थिए । यसकारण, ईश्वरले प्रतिज्ञा गरेको त्यो भूमिप्रति यहुदीहरूको ठूलो धार्मिक आस्था जोडिएको छ ।
प्रतिज्ञा भूमि (Land of promise)
अलिकति पृष्ठभूमिबाट जाउँ । मान्यताअनुसार इसापूर्व २१५० अथवा आजभन्दा करीव ४१७४ वर्षअगाडिदेखि यहुदी धर्मको विकास क्रम सुरु भएको देखिन्छ । त्यो समय पैगम्बर अब्राहमको समय थियो र अब्राहमको शिक्षा, कर्म र योगदानबाट यहुदी धर्मको सुरु भएको मान्नुपर्छ । हुन त यहुदी, इसाइ र इस्लाम तीनै धर्मको उत्पत्तिको आधारबिन्दु नै अब्राहम वा इब्राहिम हुन् र तीनै धर्मले यही त्यही समयलाई आफ्नो धर्म–उत्पत्तिको आदिकाल मान्दछन् । अब्राहम र इब्राहिम एउटै व्यक्तिको नाम हो । अब्राहम हिब्रु शब्द हो जसको अर्थ ‘राष्ट्रहरूको पिता’ हुन्छ । यसो भन्नुको कारण ईश्वरले अब्राहमलाई सन्देश दिएका थिए– “तिम्रा असंख्य वंशजहरू हुनेछन् एवम् तिमीलाई महान् राष्ट्रको पिता बनाइनेछ ।” बाइबल (Old testaments) मा त्यस क्षेत्रलाई ईश्वरले प्रतिज्ञा गरेको क्षेत्र (Land of promise) भनेर लेखिएको पाइन्छ । यही प्रतिज्ञा यहोवाले अब्राहमका पुत्र इसाहाक (आइज्याक) र नाति याकुव (इजरायल)सँग पनि गरेका थिए ।
कुन हो यहोवाले प्रतिज्ञा गरेको क्षेत्र ?
त्यो “प्रतिज्ञा क्षेत्र (Land of promise)” आजको भूगोलमा मध्यपूर्वस्थित इजरायल र पश्चिम तटीय क्षेत्र, गाजापट्टी, दक्षिणमा जोर्डनको पूर्वीतर्फको भाग, लेबनानको दक्षिणी भाग, सिरियाको पूर्वतर्फको भाग, प्यालेस्टाइन, मिस्रको सिनाइ प्रायद्वीप लगायत इराकको मेसोपोटामिया क्षेत्रसमेत पर्दछ । त्यस क्षेत्रलाई बाइबलमा कनान क्षेत्र भनिएको छ । यो क्षेत्र इयजरायलका वंशले पाउने गरी ईश्वरले वाचा गरेको भूमि हो । यस क्षेत्रका बारेमा यहोवाले पैगम्बर मुसालाई पनि मिश्रबाट इजरायलीहरूको उद्धारपछि वाचा गरिएको भूमितिर लैजान आदेश दिएका थिए । यसरी, एकपछि अर्को व्यक्तिलाई यहोवाले प्रतिज्ञासहित दिएको भनेर यस भूमिलाई आज पनि यहुदीहरू उत्तिकै पवित्र ठान्दछन् । असलमा आज पनि इजरायली र यहुदीहरू त्यही ‘प्रतिज्ञा भूमि’ प्राप्तिका लागि अरेबिक मुस्लिम र अरेबिक क्रिश्चियनहरूसँग युद्ध लडिरहेका छन् ।
निष्कर्षः
आज सिरियामा गृहयुद्धको कारण बशरअल असदको सत्ता ढलेको छ । बशर अल असद देश छोडी भागेका छन् । यसपछि प्रोक्सी युद्ध छोडी इजरायलले सिरियामाथि झन् ठूलो आक्रमण गरिरहेको छ । माथि उल्लिखित यहोवाले प्रतिज्ञा गरेको भूमिका लागि सके सिरिया जम्मै, नसके त्यसको केही हिस्सामाथि इजरायल कब्जा गरी इजरायलमा गाभ्न चाहन्छ । कारण उही— सिरिया पनि यहोवाले यहुदीहरूका लागि प्रतिज्ञा गरेको क्षेत्र हो ।
यसकारण, इजरायल यति आक्रामक भइरहेको छ । यो उनीहरूको भावनासँग जोडिएको युद्ध हो । भलै यसमा आज अमेरिकालगायत विभिन्न राष्ट्रहरू इजारायलको पक्षमा उभिएका छन् । यसका आ–आफ्ना कारण र बाध्यता पनि छन् । कुराको चुरो चाहिँ यहोवाले प्रतिज्ञा गरेको भूमिका लागि आजभन्दा ४ हजार वर्षदेखि त्यो क्षेत्रमा कुनै न कुनै रूपको युद्ध चलिरहेको छ । त्यही युद्धको निरन्तरता पनि हो आजको सिरिया युद्ध । इति ।
प्रतिक्रिया