मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   
मुख्य समाचार   

घटस्थापनासहित जमरा राखी बडादसैँ सुरू, पहिलो दिन शैलपुत्री देवीको पूजा आराधना

घटस्थापनासहित जमरा राखी बडादसैँ सुरू, पहिलो दिन शैलपुत्री देवीको पूजा आराधना


शेयर गर्नुहोस:

594
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बी नेपालीले घर घरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बडादसैँ सुरू भएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेपछि नेपालीको महान् पर्व बडादसैँ सुरू हुन्छ । बिहान ०९ः१६ बजेको शुभ साइतमा घटस्थापना गरी दसैँ घर वा पूजा कोठामा जौँ रोपेर जमरा राखेपछि आजदेखि नेपालीको महान् पर्व बडादसैँ सुरू भएको हो । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । यो १५ दिनको समयलाई दुर्गा पक्ष पनि भनिन्छ ।

Advertisement

बडादसैँको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिएको छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ भएको छ । पूजा कोठा वा दसैँ घरमा नवरात्रभर दुर्गा देवीको आरधना गरिन्छ ।

जौँको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँग समृद्धिको प्रतीक पहेँलो जमरा पनि लगाइन्छ । जमरामा जौँ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
। कुल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौँसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रुपमा प्रयोग गरिन्छ ।

दुर्गादेवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ ।

पहिलो दिन शैलपुत्री देवीको पूजा आराधना

दुर्गा पक्षको पहिलो दिन आज शैलपुत्रीको आह्वानसहित विशेष पूजा गरिएको छ । दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

दसैँ घरमा घटस्थापनापछि दैनिक बली दिई विधिपूर्वक पूजा आराधना सुरु भएको छ । रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेकाहरु दसैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् । यसैले बडादसैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमासमेत लिइन्छ ।

पूजा कोठा वा दसैँ घरमा आज विधिपूर्वक राखिएको घडाको जलले विजयादशमीका दिन अभिषेक गरी समृद्धिको प्रतीक जमरासहित मान्यजनबाट दुर्गादेवीको प्रसादका रुपमा टीका लगाइन्छ । टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ । यो १५ दिनको अवधिलाई दुर्गा पक्ष पनि भनिन्छ ।

शेयर गर्नुहोस:

594
Shares