मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

अब छिट्टै शिक्षा ऐन ल्याउँछौँ : शिक्षामन्त्री भट्टराई

अब छिट्टै शिक्षा ऐन ल्याउँछौँ : शिक्षामन्त्री भट्टराई

हिमालय खबर

शेयर गर्नुहोस:

162
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्यादेवी भट्टराईले सामुदायिक विद्यालयले प्रदान गर्दै आएको शिक्षालाई थप गुणस्तरीय बनाउन अब छिट्टै विद्यालय शिक्षा ऐन पारित गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

पोखरा–३३ कालिकास्थानस्थित सरस्वती टीका माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव तथा छात्रवृत्ति वितरण कार्यक्रमको आइतबार उद्घाटन गर्दै उनले सामुदायिक विद्यालय सुधारका लागि ल्याउन लागिएको ऐनमा संसदमा छलफल भइरहेको बताइन् ।

मन्त्री भट्टराईले विभिन्न चुनौतीको सामना गर्दै अगाडि बढेका सामुदायिक विद्यालयलाई थप व्यवस्थित र गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने थलोका रूपमा विकास गर्न आफूले विद्यालय शिक्षा ऐन ल्याउन मस्यौदा तयार गर्न लागेको जानकारीसमेत दिइन् ।

“विद्यालयलाई वर्गीकरण गरी धेरै विद्यार्थी रहेका विद्यालयमा लगानी बढाउने र स्मार्ट विद्यालयका रूपमा विकास गर्ने योजना शिक्षा मन्त्रालयको छ । हाल त्यसमा काम भइरहेको छ”, उनले भनिन्, “सङ्घ सरकारको उद्देश्य स्थानीय तहलाई बलियो बनाउँदै सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नु हो । यसमा हामी सबै मिलेर अगाडि बढ्नुपर्छ ।”

केही सामुदायिक विद्यालयले माध्यामिक शिक्षा परीक्षा (एसइई) तथा उच्च माविको परीक्षामा उत्कृष्ट अङ्क ल्याई सफलता प्राप्त गरेको, पछिल्लो समय अभिभावकमा पनि सामुदायिक विद्यालयप्रतिको विश्वास बढ्दै गएको उल्लेख गर्दै मन्त्री भट्टराईले यो अवस्थामा थप सुधार ल्याउन जरूरी रहेको धारणा राखिन् ।

प्राविधिक शिक्षाका साथै पाठ्यक्रम र सिकाइको स्तर वृद्धि गरी अनलाइन प्रणालीमार्फत पढाइलाई विकास गर्न जरूरी रहेको उनको भनाइ थियो । “संसदमा छलफल भइरहेको विद्यालय शिक्षा ऐन पारित भएपछि सामुदायिक विद्यालयको शिक्षाले फड्को मार्ने छ । स्थानीय तहले सामुदायिक विद्यालयमा अनुगमन गरी विद्यालयका समस्या समाधान गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न सहज वातावरण सृजना गरिदिनुपर्ने आवश्यकता छ”, मन्त्री भट्टराईले भनिन् ।

गण्डकी प्रदेशसभा सदस्य भीम कार्कीले विद्यालयस्तरको शिक्षा निःशुल्क प्रदान गर्ने दायित्व सरकारको भएकाले त्यो दायित्व पूरा गर्नुपर्नेमा जोड दिए । पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेम आचार्यले गाउँगाउँमा उच्च मावि सञ्चालन गरेर बन्द गर्नुभन्दा विद्यार्थी भएका विद्यालयले मात्र उच्च मावि खोल्नुपर्ने सुझाव दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालुप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक सूर्यराज अधिकारीले विद्यालयको शैक्षिक गतिविधिका बारेमा प्रकाश पारेका थिए ।

त्यस अवसरमा विभिन्न अक्षयकोषको रकमबाट एसइई तथा उच्च माविको परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । साथै मन्त्री भट्टराईले विद्यालय हाताभित्र निर्माण गरिएको प्रतीक्षालयको उद्घाटनसमेत गरेका थिए ।