मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

अर्थतन्त्रलाई चलायमान बनाउन सबै ढोका खुला गरौँ : प्रमुख सचेतक घिमिरे

अर्थतन्त्रलाई चलायमान बनाउन सबै ढोका खुला गरौँ : प्रमुख सचेतक घिमिरे

हिमालय खबर

शेयर गर्नुहोस:

135
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक विकासका लागि सम्भावनाका सबै ढोका खुला गरिनुपर्नेमा जोड दिएका छन् ।

संसदीय विटसँग सम्बन्धित पत्रकारसँगको भेटमा उनले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यमा लक्ष्य निर्धारण गरी अघि बढेको खण्डमा मात्र असल नतिजा हाँसिल गर्न सकिने बताए । प्रमुख सचेतक घिमिरेले भन्नुभयो, “विकास र समृद्धिका लागि सरकार उदार हुनुपर्छ । सरकार, निजी क्षेत्र र जनतासहित सबै मिलेर पूर्वाधार निर्माणलगायतका गरेमा मात्रै चाहेको प्रतिफल हासिल गर्न सकिन्छ ।”

उनले मुलुकलाई तीव्र आर्थिक समृद्धिमा लैजान निजी क्षेत्रमा उत्साह जगाउन आवश्यक रहेको बताए । “राज्य करले चल्छ भने निजी क्षेत्र नाफाले चल्छ । यो कांग्रेसको अवधारण हो, कसैले होइन भन्छ भने त्यसले कांग्रेसले बुझेकै छैन”, उनले भने ।

देशलाई विकास र समृद्धिमा लैजान आर्थिक उदारवादका माध्यमबाट विश्व समुदायसँग जोडिनुको विकल्प नभएको बताँदै प्रमुख सचेतक घिमिरेले जनसहभागिताविना सरकारले चाहेर मात्र आर्थिक उपलब्धि हाँसिल हुन नसक्ने तर्क प्रस्तुत गरे ।

कांग्रेस वर्तमान सत्ता गठबन्धनको ठूलो दल भए पनि संसद्मा पार्टीको भूमिका प्रभावकारी हुन नसकेको उनको भनाइ थियो । उनले भने, “किन भने हामी प्रधानमन्त्रीको दल र प्रतिपक्ष पनि होइनौँ । त्यो हिसाबले हाम्रो भूमिका धेरै ठूलो नहुन सक्छ तर पनि हरेक निर्णय र प्रक्रियामा कांग्रेसको भूमिका महत्त्वपूर्ण र प्रभावकारी हुन्छ नै । त्यो भूमिका निर्वाह गर्नुपर्छ ।”

अहिले पनि कांग्रेसले केही विषय र सैद्धान्तिक पक्षमा स्पष्ट हुनुपर्ने आवश्यक औँल्याउँदै प्रमुख सचेतक घिमिरेले रुग्ण उद्योग सरकारले चलाउनुपर्छ भनी आएका विषयमा राज्यले व्यापार गर्न हुन्न भन्नेमा कांग्रेस दृढतापूर्वक उभिनुपर्छ भने ।

“राज्य व्यावसायिक संस्था होइन, नियमनकारी निकाय हो । नियमनकारी र व्यावसायिक संस्था एउटै हुन सक्दैन, यसमा पार्टी स्पष्ट हुनुपर्छ । रुग्ण उद्योग सञ्चालन गर्ने नाममा फेरी सरकारले लगानी गर्नुपर्छ भन्ने कुरा उठिरहेको छ । राज्य कोषलाई त्यसरी प्रयोग गर्ने छूट छैन भन्ने कुरा पनि सँगसँगै उठिरहेको छ । यसमा कांग्रेस चनाखो हुनुपर्ने छ”, उनले भने ।

मुलुकमा देखिएका अनियमिता र भ्रष्ट्राचारका विरुद्धमा तथा सुशासनको मामिलामा कांग्रेस दृढताका साथ उभिदै आएको र अहिले पनि सरकारबाट कतै पनि कम्जोरी हुन नदिन सक्दो सहयोग पुर्‍याउँदै आएको उहाँको स्पष्टोक्ति थियो ।