मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कांग्रेस र एमालेबीचको सहमति अरु दलविरुद्ध होइन : सभापति देउवा

कांग्रेस र एमालेबीचको सहमति अरु दलविरुद्ध होइन : सभापति देउवा

हिमालय खबर

शेयर गर्नुहोस:

135
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई ठूला दलबीच भएको सहमति अरु दलविरुद्ध नभई देशलाई अघि बढाउन भएको बताएका छन् ।

कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको ‘राजनीतिमा निष्ठा र नैतिकता’ विषयक विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले बहुलवादका आधारमा लोकतान्त्रिक समाजवादउन्मुख संविधान बनेकाले त्यसलाई सफल बनाउन पनि दुई ठूला दलबीच सहमति भएको बताए । स्वर्गीय गिरीको भावनालाई सम्मान गर्न पनि संविधान संशोधन गरिनुपर्नेमा उनको जोड थियो ।

संविधान कार्यान्वयनका क्रममा आएका समस्या समाधान हुनेगरी संविधान संशोधन हुनुपर्नेमा पनि सभापति देउवाले जोड दिए । “देशलाई अघि बढाउने सोच विचार गरिकन दुई दलबीच सहमति भएको हो, यो सहमतिलाई कुनै दल विशेषले आफ्नाविरुद्ध भएको हो भनी बुझ्नु गलत हुनेछ, दुई ठूला दलबीच भएको सहमति लुकाएका छैनौँ, यसलाई लिखितरूपमै सार्वजनिक गरेका छौँ”, पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने ।

कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले लोकतन्त्रलाई जनताबाट नभई माथिल्लो तहका नेताबाट नै खतरा छ भन्ने गरेको विषय अहिले सही साबित हुँदै गएको बताए । कांग्रेसभित्र दलित, महिला, जनजाति, मधेशीलाई समावेशीरूपमा अघि बढाउनुपर्ने विचार गिरीले नै अघि सारेको उल्लेख गर्दै उनले त्यसमा सभापति देउवाले कर्णाली जोडेर कदमजमको अवधारणाअनुसार विसं २०५८ देखि नै काम गर्दै आएको जानकारी गराए ।

स्वर्गीय गिरीकी धर्मपत्नी भारती सिलवाल गिरीले राजनीति व्यवसायीकरण भएको भन्ने गरेको विषय अहिले अझै बढ्दै गएको देखिएको बताए । विचार र प्रतीकका सेतुका रुपमा रहेका प्रदीपको अभाव नेपाली राजनीतिमा खड्किएको पनि उनले सुनाइन् ।

आयोजक संस्थाका अध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले गिरीले नेपाली राजनीतिमा पुर्‍याएको योगदानको स्मरणका लागि कार्यक्रम आयोजना गरिएको बताए । विसं २००४ असोज २४ गते सिरहामा जन्मिएका गिरीको २०७९ भदौ ४ गते निधन भएको थियो ।