मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

सरकारलाई जनउत्तरदायी बनाउन सञ्चारमाध्यमले खबरदारी गर्नुपर्छ : सञ्चारमन्त्री गुरूङ

सरकारलाई जनउत्तरदायी बनाउन सञ्चारमाध्यमले खबरदारी गर्नुपर्छ : सञ्चारमन्त्री गुरूङ

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले सरकारलाई जनउत्तरदायी र जिम्मेवार बनाउन सञ्चारमाध्यमले निरन्तर खबरदारी गरिरहनुपर्नेमा जोड दिएका छन् ।

‘रासस मिडिया सङ्ग्रहालय’को शुभारम्भ गर्दै उनले सरकारलाई जनताप्रति जिम्मेवार बनाउन पत्रकारले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।

“सरकार र जिम्मेवार पदाधिकारीको गलत कामको कटु आलोचना गर्नुपर्छ”, सञ्चारमाध्यमका भूमिकाबारे स्पष्ट पार्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले भने, “तर एक पक्षीयरुपमा विरोधमात्रै गर्नु निष्पक्ष पत्रकारिता होइन, सञ्चारमाध्यम र स्वयम् पत्रकार पनि रचनात्मक हुनुपर्छ ।”

उनले सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको विश्वव्यापी सिद्धान्त भए पनि पछिल्लो समय स्वतन्त्र पत्रकारिता व्यक्तिकेन्द्रित आलोचनामा सीमित भएकामा चिन्ता व्यक्त गरे ।

पत्रकारिता क्षेत्रले वस्तुनिष्ठ र अनुशासित भएर आफ्नो भूमिका निर्वाह गरेमात्रै सरकार उत्तरदायी र जिम्मेवार हुने उल्लेख गर्दै मन्त्री गुरूङले भने, “सञ्चारमाध्यमको भूमिका प्रतिपक्षी हुनुपर्छ, गलत काममाथि प्रश्न उठाउनुपर्छ, सही र गलत छुट्टयाउन सक्नुपर्छ, सरकार र समाजलाई सभ्य बनाउन केन्द्रित हुनुपर्छ ।”

जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन पनि सञ्चारमाध्यमले सरकारलाई खबरदारी गर्नु अपरिहार्य रहेको मन्त्री गुरूङको भनाइ थियो ।

“वर्तमान सरकार जनताप्रति बढी उत्तरदायी र जवाफदेही हुन खोजिरहेको छ, यसतर्फ सञ्चार जगत्को रचनात्मक सहयोग आवश्यक छ”, उनले भने । उनले अमर्यादित अभ्यासले सिङ्गो पत्रकारिता क्षेत्रमाथि नै प्रश्न उठिरहेको सन्दर्भमा पत्रकारितालाई व्यवस्थित, मर्यादित तथा रचनात्मक बनाउन सबै पक्ष सजग र सचेत हुनुपर्ने धारणा राखे ।

वर्तमान सरकारले अनावश्यक प्रचार नखोजेको उल्लेख गर्दै प्रवक्ता गुरुङले सरकारका जनपक्षीय कामलाई जनतासमक्ष पु¥याउन भने मिडियाले सहयोग गर्नुपर्छ भने । ‘मिडिया कन्टेन्ट’ उत्पादन केन्द्रका रुपमा रहेको राससले आफूलाई व्यवस्थित, सिर्जनशील र प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिँदै उनले सञ्चार क्षेत्रको अभिभावकको भूमिका निर्वाह गर्न निर्देशन दिए ।

राससले स्थापना गरेको मिडिया सङ्ग्रहालयबाट सञ्चार क्षेत्रको विकासको अध्ययन गर्न महत्त्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गर्दै मन्त्री गुरूङले पछिल्लो पुस्ताका लागि महान् काम भएको उल्लेख गरे ।

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले रासस लामो इतिहास भएको संस्थाका रुपमा रहिआएको उल्लेख गर्दै यसले गरेका कामलाई समय क्रमसँगै हेर्ने हो भने मिडिया विकासको जीवन्त अवस्था चित्रण हुने बताए । व्यवस्थापकीय मात्र नभई सिर्जनशील काममा पनि केन्द्रित हुन रासस व्यवस्थापनलाई निर्देशन दिँदै उनले समाचारका विषयवस्तुको विविधीकरणमा ध्यान दिन आग्रह गरे ।