मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

‘स्पीड चेकिङ’का क्रममा स्कुटर चालकको गयो ज्यान, पाँच घन्टासम्म गठ्ठाघर तनावग्रस्त

‘स्पीड चेकिङ’का क्रममा स्कुटर चालकको गयो ज्यान, पाँच घन्टासम्म गठ्ठाघर तनावग्रस्त

हिमालय खबर

शेयर गर्नुहोस:

675
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर । बिहीबार दिउँसो १ः४० बजेतिर भक्तपुरको गठ्ठाघरमा रुखको आडमा बसेर ट्राफिक प्रहरीले राडार गनमार्फत सवारीको गति मापन गरिहेको थियो ।

करिब ६० मिटर पर बसेका ट्राफिक प्रहरीले अचानक ५० किलोमिटर प्रतिघन्टाको गतिभन्दा बढीमा आएको भन्दै बा३९प ८९४४ नम्बरको स्कुटरलाई बीच सडक रोक्न लगाए, स्कुटर रोकियो ।

सडकमा अचानक स्कुटर रोकिएपछि पछाडिबाट आएको ना६ख २१७३ नम्बरको मालवाहक ट्रकले स्कुटरलाई ठक्कर थियो । तीव्र गतिको ट्रकले स्कुटरलाई ठक्करमात्र दिएन, झण्डै एक सय मिटर परसम्म घिसारेर लग्यो ।

स्कुटर चालकको शरीर क्षतविक्षत भयो । दुर्घटना हुनेवित्तिकै वरपर मानिस जम्मा भए । त्यो भीड आक्रोशित र एकत्रित भयो । ट्रक चालक तत्काल फरार भए । चालक फरारसँगै आक्रोशित भीड प्रहरीमाथि खनियो ।

ट्राफिक प्रहरीले सडकमा जथाभावी ‘स्पीड चेकिङ’ गरेका कारणले दुर्घटना भएको भन्दै भीड ट्राफिक प्रहरीमाथि नै जाइ लाग्यो । सडकमा गति मापन गर्न बसेका ट्राफिक प्रहरीको भागभाग भयो । आक्रोशित भीडले ट्रक तोडफोडसँगै आगजनीको प्रयाससमेत गर्‍यो । त्यसपछि आक्रोशित भीड र प्रहरीबीच ढुङ्गा हानाहान भयो । स्थिति निकै तनावग्रस्त बन्यो ।

केही प्रदर्शनकारी र केही प्रहरी घाइते भए । प्रहरीले प्रर्दशनकारीमाथि लाठीचार्ज गर्‍यो । स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले अश्रु ग्यास प्रहार गर्‍यो ।

तनावका बीच प्रहरीले शव झिक्न निकै प्रयास गर्‍यो । टायरमनि शव परेकाले तान्दा पनि आएन । त्यसपछि क्रेन ल्याएर शव झिक्न खोज्दा आक्रोशित भीडले अवरोध गरेपछि स्थिति पुनः तनावग्रस्त भयो ।

भीड नियन्त्रणका लागि भक्तपुरका एक सय १८ जना प्रहरी, काठमाडौँबाट आएका एक सय ३० जना प्रहरी र सशस्त्रका एक सय २३ जना परिचालन भएको प्रहरीले जनाएको छ । घटनापछि आक्रोशित भीडले प्रहरी बिट, ट्राफिक आइरल्याण्ड र प्रहरीका विभिन्न सामग्री तोडफोड गरेका छन् ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले पाँच घन्टापछि शव निकालेर सडक खुलाइएको जानकारी दिए । भीड नियन्त्रणमा लिन सशस्त्र प्रहरीले आठ राउन्ड र नेपाल प्रहरीले २२ राउन्ड अश्रु ग्यास प्रहार गरेको जानकारी प्रजिअ श्रेष्ठले दिए ।

घटनाको छानबिन सुरू भइसकेको जानकारी दिँदै उनले सडकमा राखिएको फलामे बोर्डका कारण सिसी क्यामरामा दुर्घटनाको दृश्य हेर्न समस्या आएको बताए ।

घटना भएको ६ घन्टापछि मृतक पुरुष रहेको पहिचान भएको छ । प्रजिअ श्रेष्ठले मृतक महिला नभई पुरुष भएको खुलेको जानकारी दिए ।

प्रनाउ कार्कीले मृतकको साथबाट ओखलढुङ्गाका ४५ वर्षीय उत्तम कोइराला नाममा जारी सवारीचालक अनुमतिपत्र भेटिएको जानकारी दिए । यद्यपि आफन्तबाट शव पहिचान नभएसम्म यकिन अझै भन्न नसकिने उनले बताए ।

घटनामा संलग्न ट्रक चालक सर्लाही मलङ्गवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरी नियन्त्रणमा लिइसकेको छ भने मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको प्रहरीले जनाएको छ ।