मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नोबेल पुरस्कार विजेता युनुस स्वदेश फिर्ता, केही महिनाभित्र चुनाव गराउने प्रतिबद्धता

नोबेल पुरस्कार विजेता युनुस स्वदेश फिर्ता, केही महिनाभित्र चुनाव गराउने प्रतिबद्धता


शेयर गर्नुहोस:

1.3k
Shares

  • change font
  • change font
  • change font

ढाका । नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस कार्यबाहक सरकारको नेतृत्व गर्न बिहीबार स्वदेश फर्किएका छन् ।

आरक्षणविरोधी आन्दोलनबाट सुरू भएको बङ्गलादेशको राजनैतिक असन्तुष्टिले प्रधानमन्त्री शेख हसिनालाई राजीनामा गरी देश छोड्न बाध्य बनाएपछि विद्यार्थी नेताहरूको प्रस्तावमा सरकारको नेतृत्व गर्ने सहमतिका साथ उनी स्वदेश फर्किएका हुन् ।

Advertisement

उनले बङ्गलादेशमा शेख हसिनाको सरकार अपदस्थ गर्ने क्रममा भएको लामो प्रदर्शनमा मारिएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको बलिदानले देशलाई ‘दोस्रो स्वतन्त्रता’ दिलाएको बताएका छन् ।

कामचलाउ सरकारको नेतृत्व गर्न स्वदेश फर्केलगत्तै ढाकास्थित विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने “आजको दिन हाम्रा लागि गौरवपूर्ण दिन हो ।” उनले अगाडि भने, “बङ्गलादेशले नयाँ विजय दिवस सिर्जना गरेको छ । देशले दोस्रो पटक स्वतन्त्रता पाएको छ ।”

हप्तौँदेखि चलेको हिंसामा कम्तीमा ४५५ जनाको ज्यान जानेगरी भएको हिंसापछि सुव्यवस्था बहालीका लागि आह्वान गर्दै उनले आक्रमणमा परेका अल्पसङ्ख्यकसहित एक अर्काको रक्षा गर्न नागरिकहरूलाई आह्वान गरेका छन् ।

“कानुन र व्यवस्था हाम्रो पहिलो काम हो । जबसम्म हामी कानुन र व्यवस्थाको स्थिति ठीक गर्दैनौँ, तबसम्म एक कदम पनि अगाडि बढ्न सक्दैनौँ”, उनले भने, “मेरो सबै जनासँग आह्वान छः यदि तपार्इंहरूलाई ममाथि भरोसा छ भने यो सुनिश्चित गर्नुस् कि देशको कुनै पनि कुनामा कसैमाथि आक्रमण नहोस् ।”

चौरासी वर्षीय युनुसले बिहीबार साँझसम्म देशको नयाँ नेताका रूपमा शपथ लिने सम्भावना छ । सरकारको गैर–जिम्मेवारीपनको बीचमा उर्लेको विद्यार्थी आन्दोलन र विद्यार्थीहरूको मागमा सेनाले सहमति जनाएसँगै हसिनाले पदबाट राजीनामा दिन बाध्य हुनुपरेको थियो ।

यसअघि, युनसले ढाकाका लागि प्रस्थान गर्दा पेरिसमा पत्रकारसमक्ष आफू घर फर्कन पर्खिरहेको र त्यहाँ के भइरहेको छ, कसरी समस्याबाट बाहिर निस्कन सक्छौँ भनेर सोच्न समर्थक सबैलाई आह्वान गरेका थिए ।

युनुसलाई यस पहिलेको सरकारले १०० भन्दा बढी आपराधिक मुद्दाहरूको आरोप लगाएपछि उनी निर्वासनमा बस्दै आएका थिए । सेना प्रमुख जनरल वाकर–उज–जमानले युनसको समर्थनमा रहेको जनाउँदै बिहीबार साँझ अन्तरिम सरकारको नेतृत्वको शपथ लिने आशा व्यक्त गरे । यसरी आगामी दिनमा लोकतान्त्रिक प्रक्रियाको माध्यमबाट मुलुकलाई अगाडि बढाउन सक्षम हुने विश्वास जमानले व्यक्त गरे ।

ढाका विमानस्थलमा पत्रकारहरुसँग युनसले ‘केही महिनाभित्र’ चुनाव गराउन चाहेको बताउँदै मुलुकले दोस्रोपटक स्वतन्त्रता प्राप्त गरेको उल्लेख गरेका छन् । उनले छिट्टै आफ्नो संलग्नतामा विजय उत्सव मनाउने बताएका छन् । एएफपी

शेयर गर्नुहोस:

1.3k
Shares