ढाका । बंगलादेशको प्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजिब जोयले आफ्नी आमाले आइतबार नै राजीनामा दिने तयारी गरेको खुलाएका छन् ।
बिबिसीसँग कुरा गर्दै साजिबले केही मानिसहरुको भीडले आफ्नी आमालाई सत्ताबाट बाहिर पुर्याएको बताउँदै अब आफ्नी आमाको राजतीतिक पुनरागमन सम्भव नभएको बताएका छन् ।
उनले भनेका छन्, ‘उनले विगत १५ वर्षमा बंगलादेशलाई परिवर्तन गरिन् । उनी सत्तामा आउँदा बंगलादेशलाई एक गरिब देश मानिन्थ्यो । तर। आज यसलाई एशियाको उदीयमान बाघको रूपमा हेरिएको छ ।’
उनले सरकारले विद्यार्थीमाथि दमन गरेको आरोप अस्वीकार गर्दै भने, ‘आइतबार मात्रै १३ जना प्रहरीलाई भीडले कुटेर मारेको छ, यस्तो अवस्थामा प्रहरीबाट के अपेक्षा गर्ने ? साजिबले भने, अब उनकी आमाको राजनीतिक पुनरागमन सम्भव छैन ।’
उनले बिबिसीलाई भने, ‘उनी अहिले ७० वर्षको उमेरमा छिन् । उनको कडा परिश्रमको बाबजुद पनि केही मानिसहरूले उनको विरुद्धमा विद्रोह गरे । मलाई लाग्छ उनी कहिल्यै पुनरागमन गर्ने छैनन् ।’
आरक्षणविरोधी आन्दोलन चर्किंदै गएपछि प्रदर्शन उग्र हुँदा हसिनाले सोमबार पदबाट राजीनामा दिँदै देश छोडेर भारत पुगेकी छन् । उनी छिट्टै लन्डन जानसक्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । एजेन्सी
प्रतिक्रिया