चितवन । चर्चित लोक तथा दोहोरी गायिका शान्तिश्री परियारले गाएको एउटा गीत केही दिनदेखि विवादित छ । दर्शक तथा स्रोताबाट उक्त गीतलाई लिएर नै आलोचना गर्न थालेपछि शान्तिश्री परियारले क्षमा याचना गरेकी छन् । हरि गिरी ‘विमर्शी’सँग गाएको ‘बिस्तराले पोल्यो’ बोलको गीतको शब्द र भिडियो असान्दर्भिक भएको भन्दै दर्शक तथा स्रोतामात्रै नभई कलाकारहरुले नै उक्त गीतमाथि आलोचना गरेका छन् ।
गायिका परियारले हिँड्दै जाँदा कहिलेकाहीँ ठेस लाग्ने बताउँदै आगामी दिनमा गीत गाउँदा शब्द हेरेरमात्रै गाउने वाचासमेत गरेकी छन् । १४ वर्षे गायन यात्रामा करिब दुई हजार गीत गाइसकेको बताउँदै उनले विज्ञप्तिमार्फत भनेकी छन्, ‘सामाजिक सञ्जालहरुबाट नकारात्मक टिप्पणी आइरहेको हुँदा म लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य भएको नाताले प्रतिष्ठान र शुभचिन्तकहरुप्रति आँच पुगेको आभास भएको हुँदा म क्षमाप्रार्थी छु ।’
शान्तिश्री परियारको गीतप्रति लक्षित गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अम्बर ‘विरही’ गुरूङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका छन् । गुरूङले ‘खै के खै के, गीत छाडा हो कि मान्छे छाडा, बुझ्न गाह्रो’ । उनले दोस्रो स्टाटसमा ‘पहिलो कुरो त तीज गीत पुरूषले गाउनु नै विकृति हो, अन्य त झन्…’ लेखेका छन् ।
लोक तथा दोहोरी गायक कृष्ण देवकोटाले समेत सामाजिक सञ्जालमार्फत नै गीत–संगीतको नाममा समाज भड्काउने गतिविधि नगर्न सचेत गराएका छन् । पछिल्लो समय अमेरिका बस्दै आएका गायक तथा सर्जक देवकोटाले भनेका छन्, ‘स्टेज उफार्न छाडा तीज गीत नै चाहिने हो ?’
हरि गिरी ‘विमर्शी’को शब्द तथा संगीतमा तयार भएको गीतको शब्द र दृश्य तीज पर्वको मर्मविपरीत भएको भन्दै चर्को आलोचना भएको हो । उक्त गीतको भिडियो भने रामजी लामिछानेले निर्देशन गरेका हुन् भने भिडियोमा सञ्चिता बोलखे र रमेश विश्वकर्माले अभिनय गरेका छन् ।
प्रतिक्रिया