मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

नेपाल जर्नीद्वारा भरतपुरमा पुस्तकालय निर्माण सुरु

नेपाल जर्नीद्वारा भरतपुरमा पुस्तकालय निर्माण सुरु


ड्यालस (टेक्सस) । नेपाल जर्नीद्वारा चितवनको भरतपुरमा निर्माणाधिन पुस्तकालयको निर्माण ४२ प्रतिशत पुरा भएको छ ।

पुस्तकालयसँग सरोकार राख्ने र हाल अमेरिकामा रहेकाहरुले शनिबार आयोजना गरेको कार्यक्रममा सन् २०१७ देखि पुस्तकालयको लक्ष्य राखेर सुरु भएको अभियान अब कार्यान्वयन तहमा पुगेको जानकारी दिए ।

भरतपुर महानगरपालिका– ४ लङ्कुमा निर्माण सुरु भएको पुस्तकालयको कुल लागत ५ करोड रुपियाँ रहेको छ । आवश्यक पर्ने २ कठ्ठा १० धुर जग्गा भरतपुर महानगरपालिकाले निशुल्क उपलव्ध गराएको पनि त्यस अवसरमा जानकारी दिइयो ।

भवनको निर्माण सुरु भैसकेको र यो पुस्तकालय पुर्ण रुपमा अपाङ्गमैत्री हुनेछ । ह्विलचेयर र्याम्प, लिफ्ट र ब्रेललिपी सहित हरेक उमेर, वर्गका व्यक्तिहरुका लागि यो पुस्तकालय पहुँचयोग्य हुने समेत कार्यक्रममा जानकारी दिइएको थियो ।

कार्यक्रममा नेपाल जर्नीकी अध्यक्ष मौसमी श्रेष्ठले संस्थाले काठमाडौंमा पुस्तकालय स्थापना गर्ने लक्ष्य लिएपनि जग्गा प्राप्ती हुन नसकेको उल्लेख गर्दै भरतपुर महानगरले जग्गा दिएका कारण परियोजना चितवन गएको उल्लेख गरिन् । आउँदा दिनमा पनि संस्थाले शिक्षा र स्वास्थको क्षेत्रमा कामहरु गर्दै जाने प्रतिवद्धता समेत श्रेष्ठले व्यक्त गरिन् ।

सोही अवसरमा नेपाल जर्नीकी कोषाध्यक्ष उमा अर्याल न्यौपानेले भवनको निर्माणमा मात्र तीन करोड २१ लाख रुपैयाँ खर्च हुने उल्लेख गर्दै अहिलेसम्म ९० लाख रुपैयाँ निर्माणकर्ता ठेकेदारलाई भुक्तानी गरिसकेको र अमेरिकाकै बैंकमा ६९ हजार तीनसय ८३ डलर मौज्दात रहेको जानकारी दिइन् । परियोजना सम्पन्न गर्नका लागि आवश्यक रकम पुस्तकालयप्रेमीहरु, संसारका बिभिन्न देशमा रहेका नेपालीहरुबीच संकलन गरेर पठाउने तयारी भैरहेको समेत उनले उल्लेख गरिन् ।

कार्यक्रममा नेपाल जर्नी इञ्जिनियरिङ्ग प्रमुख राजीब श्रेष्ठले २०८२ जेठभित्र पुस्तकालय निर्माण सम्पन्न गरेर स्थानीय समुदायलाई हस्तान्तरण गर्ने योजना रहेको बताए ।

पुस्तकालयका लागि हालसम्म संकलन भएको रकम र प्रगति विवरण सार्वजनिक गर्ने उद्वेश्यले आयोजित कार्यक्रममा युलेस सिटीका उपमेयर टीका पौडेलले पुस्तकालयको निर्माण जतिसक्दो छिटो सम्पन्न गरेर समुदायलाई लाभान्वित बनाउन आग्रह गरे । पौडेलले तत्कालै व्यक्तिगत तर्फबाट एकहजार एक डलर एक सेन्ट पुस्तकालयका लागि सहयोग समेत प्रदान गरेका थिए ।

एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, समाजसेवी धनञ्जय ढकाल, प्रोफेसर प्रभात दीक्षित, जनसम्पर्क समितिका सभापति ज्ञानेन्द्र कार्की लगायतले पुस्तकालयको महत्व र अझै विशेष क्षमता भएका वर्गका लागि ठूलो सहयोग हुने धारणा राख्दै मातृभूमिका लागि प्रवासमा रहेकाहरुको नमूनायोग्य कार्य हुने समेत चर्चा गरे ।

दुई तल्ले भवनको पुस्तकालयमा एकसय जना अटाउने सम्मेलन कक्ष, १७ जना क्षमताको बैठक कक्ष, क्याफ्टेरिया समेत रहनेछन् । पुस्तकालयमा अडियो भिडियो सेक्सन, ब्रेल कक्ष समेत रहनेछन् ।

अमेरिकामा रहेका पुस्तकालयहरुकै डिजाइनमा भरतपुरमा यो पुस्तकालय निर्माण हुने समेत त्यस अवसरमा जानकारी दिइएको थियो ।