मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य : केएमसी अस्पताल

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य : केएमसी अस्पताल

हिमालय खबर

शेयर गर्नुहोस:

648
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । दुर्घटनामा घाइते भएका सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको काठमाडौँ मेडिकल कलेजले जनाएको छ । अस्पतालका निर्देशक प्राडा मीना थापाले विज्ञप्ति जारी गर्दै उपचाररत केसीको स्वास्थ्यमा अन्य जटिलता नदेखिएको बताएकी छन् ।

बुधबार बिहान सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटनाग्रस्त हुँदा सोही विमानका चालक शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो ।

विमानमा सवार अन्य १८ जनाको मृत्यु भइरसकेको छ । शाक्यलाई उद्धार गरी सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार सुरू गरिएको थियो ।

“क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य छ । उनको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको छ, ढाडको एउटा हड्डी साथै देव्रेपट्टीका तीनवटा करङ्ग भाच्चिएका छन्”, विज्ञप्तिमा भनिएको छ । अस्पतालले विमान दुर्घटनामा मृत्यु भएकाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरु जलेर पहिचान गर्न कठिन भएकाले डिएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना रहेको हुँदा प्रक्रिया पूरा भएपछिमात्र क्रमशः हस्तान्तरण हुने जनाइएको छ ।

शव परीक्षण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ । अस्पतालका निर्देशक प्राडा दिनेश काफ्लेले भने, “शव पहिचान नभइकन दिन मिल्दैन । १२ वटा शवको परीक्षण सकिएको छ, अहिले तीनवटा शव परीक्षण भइरहेको छ । पहिचान नभएकाहरुको डिएनए गर्नुपर्‍यो भने नतिजा आउन दुई हप्ता लाग्छ । परेन भने भोलि बेलुकासम्म सबै शवको परीक्षण सकिन्छ होला । प्रक्रिया मिलेपछि पर्सिबाट आफन्तलाई हस्तान्तरण गर्न सकिन्छ ।”

उनले विज्ञहरु संवेदशीलपूर्वक काममा खटिएको र शव पहिचान भएर प्रक्रिया पूरा भएपछि सकेसम्म छिटो हस्तान्तरण गरिने जानकारी दिए ।

स्वास्थ्य मन्त्रीद्वारा सौर्य एयर दुर्घटनाप्रति दुःख व्यक्त

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाप्रति दुःख व्यक्त गरेका छन् ।

बिहीबार महाराजगञ्जस्थित त्रिवि चिकित्सा शिक्षाशास्त्र अध्ययन संस्थानको ‘फरेन्सिक बिल्डिङ’को शव परीक्षण युनिटमा उनले अवस्था बुझ्दै जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

दुर्घटनामा परी ज्यान गुमाएका नागरिकको शव परीक्षण गरी सम्बन्धित परिवारलाई हस्तान्तरणका लागि सहजीकरण गर्न अस्पताल प्रशासनलाई मन्त्री पौडेलले आग्रह गरे ।

“अस्पतालका अनुसार डीएनए गर्न नपर्ने, पहिचान भएका सबैको भोलि साँझसम्म शव हस्तान्तरण गर्ने भनिएको छ”, उनले भने, “शव हस्तान्तरणमा सहजीकरण गरिदिनु होला ।” उनले मृतकका परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति निगमको श्रद्धाञ्जली

नेपाल वायुसेवा निगमले बुधबार काठमाडौँ-पोखरा उडानका क्रममा दुर्घटना भएको सौर्य एयरलाइन्समा परी मृतक हुने १८ जनाप्रति श्रद्धाञ्जली प्रकट गरेको छ । निगमले प्रेस विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली र मृतकको आफन्तप्रति समवेदना प्रकट गरेको हो ।

विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गबाट उडान भर्नेबित्तिकै दुर्घटनाग्रस्त भई उक्त जहाजमा सवारमध्ये १८ जना मृत्यु र एक जना घाइते भएका थिए । निगमले घाइते भएका चालक दलका सदस्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बुधबार बिहान काठमाडौँबाट पोखरा उडानको क्रममा सौर्य एयरलाइन्सको नाईन एए–एएमइ कलसाइन रहेको चालकदलसहित १९ जना सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग-२ बाट टेकअफ गर्नेबित्तिकै दाँयातर्फ दुर्घटनामा परेको थियो । दुर्घटनामा परी १८ जनाले ज्यान गुमाइसकेका छन् भने घाइते पाइटलको उपचार भइरहेको छ ।