मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

दही च्यूरा खाएर मनाइयो १५ असार

दही च्यूरा खाएर मनाइयो १५ असार

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते दही च्यूरा खाएर मनाइने सांस्कृतिक परम्परा यसवर्ष पनि जारी रह्यो । आज देशभर दही च्यूरा खाएर असार १५ मनाइयो ।

खेतमा रोपाइँ गरी दही च्यूरा खाएर मनाइने यो सांस्कृतिक परम्परा रोपाइँ सुरु हुन थालेदेखि नै मनाउन थालिएको हो । असार ‘मुठी रोपेर मुरी उमार्ने’ महिनाका रूपमा सदियौँदेखि चिनिँदै आएको छ । विसं २०६२ देखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको छ ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । व्यस्त हुने महिनाको मध्यमा अर्थात् १५ गते दही च्यूरा खाएर धान दिवस मनाउने परम्परा नेपाली समाजमा चल्दै आएको छ । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर आज पनि खेतमै रमाइलो गरिएको छ ।

मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खाने गरेको विश्वास छ । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रुपमा मनाएका छन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्नेजस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको हो ।

परम्परादेखि असार धान रोप्ने महिनाका रूपमा परिचित हुँदै आएको हो । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यसैअनुसार आज २१औँ धान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

नेपाल कृषिप्रधान देशका भएकाले यहाँ अधिकांश मानिस कुनै न कुनै रूपमा कृषिसँग जोडिएका छन् तर पछिल्लो समय यसतर्फको आकर्षण घट्दो छ । धेरै स्थानमा सिँचाइको उचित प्रबन्ध नहुँदा आकाशेपानीको भरपनुपर्ने भएकाले देशका सबै भागमा पानी नपरेका कारण असार १५ बितिसक्दा पनि हुनुपर्ने जति रोपाइँ हुन नसकेका खबर सार्वजनिक भएका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको जनाए पनि कतैकतै भने किसानले मल नपाएको गुनासो गरिरहेका छन् ।

सरकारले रासायनिक मल बिक्री गर्न स्थानीय सरकारलाई जिम्मेवार बनाउँदै स्थानीय तहले छनोट गरेका सहकारीमार्फत रासायनिक मल बिक्री वितरण हुने व्यवस्था गरेको छ । सहकारीले व्यवस्थित रूपमा मल वितरण नगर्दा किसान भने मर्कामा परिरहेका जानकारहरु बताउँछन् ।