मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   
मुख्य समाचार   

‘बोक्सीको घर’ले पूरा गर्‍यो ५१औँ दिन

‘बोक्सीको घर’ले पूरा गर्‍यो ५१औँ दिन

हिमालय खबर

शेयर गर्नुहोस:

405
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । यो वर्ष प्रदर्शनको ५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र ‘बोक्सीको घर’ बनेको छ । काठमाडौँस्थित रञ्जना सिनेप्लेक्समा प्रदर्शनको ५१औँ दिन पूरा गरिरहँदा चलचित्रले व्यावसायिक रुपमा पनि सफलता प्राप्त गरेको हो ।

निर्माण पक्षले दश करोड हाराहारीमा चलचित्रले कुल व्यापार (ग्रस कलेक्सन) गरेको बताएका छन् । यो अभिनेत्री केकी अधिकारीको पहिलो सर्वाधिक सफल चलचित्रसमेत बनेको छ । सयौँ साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) मा अभिनय गरेपछि डेढदशक अगाडि अधिकारी ‘स्वर’ चलचित्रमार्फत अभिनेत्रीको रुपमा ठूलो पर्दामा आएकी थिइन् । स्वर चलचित्रमा उनीबाहेक प्रायः नयाँ कलाकार भएकाले दर्शकलाई चलचित्र भवनसम्म ल्याउने श्रेय उनलाई गयो ।

निरन्तर चलचित्र क्षेत्रमा व्यस्त अभिनेत्री अधिकारीले दुई वर्षअगाडि चलचित्र ‘बोक्सीको घर’ मा अभिनय गर्न अडिसन दिएको बताइन् । उनले भूमिका निर्वाह गर्न सक्ने वा नसक्ने भन्ने थाहा पाउन निर्देशक सुलक्षण भारतीले क्यामेरा अगाडि अभिनय गर्न लगाएका थिए ।

“मलाई त्यो भूमिका निर्वाह गर्नुथियो । मैले गरिरहेको कामभन्दा फरक भएकाले मैले नयाँ कलाकारजस्तै अभिनय सिकेर, अडिसन दिएर काम गरेकी हुँ”, अभिनेत्री अधिकारीले भनिन् । डेढ दशकपछि अडिसन दिनुको कारण उनलाई उक्त पात्र निर्वाह गर्दा देखाउन सकिने कलाकारिता र चलचित्रले उठान गरेको विषय थियो ।

कोरोना महामारी अगाडि उनले मण्डला नाटकघरमा नै बोक्सीको घर नाटक हेरिन् । नाटक हेरेपछि शीर्ष भूमिका निर्वाह गरेकी सरिता गिरी र निर्देशक भारतीलाई बधाई दिएको उनले स्मरण गरिन् ।

गम्भीर विषयलाई मनोरञ्जनात्मक प्रस्तुति दिन सकिन्छ भन्ने लागेकाले कोरोना महामारीको बन्दाबन्दीमा पनि अभिनेत्री अधिकारीले ‘बोक्सीको घर’ चलचित्र बनाउने सोच बनाएको बताइन् ।

पहिलो निर्मित चलचित्र भारतीयको नक्कल रहेको आरोप खेपेकी अभिनेत्री अधिकारीले यसपटक मौलिकसँगै सामाजिक विषयलाई पर्दामा ल्याउने अठोट गरिन् । “मैले यो कथालाई बढीभन्दा बढी दर्शकलाई देखाउनु पर्छ भनेर बनाउने प्रस्ताव लिएर निर्देशक भेटेँ । उहाँले सुरुमा अस्वीकार गर्नुभयो, मैले निरन्तर प्रयास गरेर सहमत गराएँ”, उनले भनिन् ।

उनी आफूलाई उक्त पात्रमा तयार गर्ने श्रेय निर्देशक भारतीलाई दिन्छिन् । उनले चलचित्र सुरु हुनुअघि छ महिना प्रशिक्षण लिइन् । “यो पात्रलाई बाँच्नु थियो । त्यसैले मैले दैनिक बिहान ५ बजेदेखि ८ बजेसम्म उक्त पात्रबारे कार्यशाला (वर्कशप) गर्थे । महिलाको यो कथालाई अगाडि ल्याउनु थियो । मलाई उक्त पात्रमा तयार गर्न निर्देशकले निकै मेहनत गर्नुभएको छ”, अभिनेत्री अधिकारीले भनिन् ।

प्रायः नेपाली चलचित्रमा अभिनेत्रीलाई अभिनेताका लागि मात्र राखिने गरेकोबारे उनी अवगत छिन् । उनले पनि यस्तै भूमिका निर्वाह गर्दै आएकी छन् । अभिनेत्रीले निर्माण गर्ने चलचित्रले महिला सशक्तीकरणको विषयसँगै मौलिक कथालाई अगाडि ल्याउनु पर्छ भन्नेमा उनी स्पष्ट थिइन् ।

“धेरै चलचित्रमा अभिनेत्रीले परनिर्भर भूमिका निभाएका छन् । सायद, पुरुष हिरो हुँदा चलचित्र चल्छ भन्ने मान्यता पनि होला । त्यहीकारण पनि यसपटक चलचित्रमा अधिकांश मुख्य पात्र महिला नै राख्यौँ”, अभिनेत्री अधिकारीले भनिन्, “कमै नाटकलाई चलचित्र बनाइने गरिन्छ । नाटकघरमा नाटक मञ्चन हुँदा व्यावसायिक दबाब कम हुन्छ । चलचित्र भवनमा आउँदा लागत बढ्ने भएकाले बजारलाई ध्यान दिनु अत्यावश्यक हुन्छ ।”

कोरोना महामारीपश्चात् नाटकबाट चलचित्र बनेको ‘पानीफोटो’ र ‘डिग्री माइला’लाई दर्शकले साथ दिए पनि ‘बोक्सीको घर’ भने चलचित्रको भाषामा ‘ब्लकबष्टर’ नै भएको अधिकारीको भनाइ छ ।