मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

भ्रामक र तथ्यहीन सूचना देशलाई घातक : अध्यक्ष बस्नेत

भ्रामक र तथ्यहीन सूचना देशलाई घातक : अध्यक्ष बस्नेत

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भ्रामक र तथ्यहीन सूचना फैलाउनु देशकै लागि घातक हुने भएकाले त्यसतर्फ गम्भीर हुन सबै सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।

अनलाइन र सामाजिक सञ्जालमार्फत अफवाहपूर्ण र एकपक्षीय सूचना बढी प्रवाह भएको पाइएको औँल्याउँदै अध्यक्ष बस्नेतले त्यस्ता माध्यमलाई कालोसूचीमा राख्ने प्रक्रिया थालिएको जानकारीसमेत दिए ।

नयाँ खुलेका अनलाइन सञ्चारमाध्यमका सम्पादक, सञ्चालकलाई बिहीबार काउन्सिलमा बोलाएर पत्रकार आचारसंहिताको विषयमा अभिमुखीकरण राखिएको थियो । सोही क्रममा बोल्दै अध्यक्ष बस्नेतले राम्रो काम गर्नेलाई पुरस्कार र अटेर गर्नेलाई कडा कारबाही थालिएको बताए ।

‘समाचार माध्यमका नाममा अपुष्ट सामग्री दिने, असन्तुलित र पूर्वाग्रहपूर्ण सामग्री पस्किने काम भइरहेका छन् । गालीगलौज, अश्लील र बनावटी सामग्री पनि पाइएका छन् । त्यस्ता कुनै पनि माध्यमलाई काउन्सिलले अब कालोसूचीमा राख्दैछ’, उनले भने । नयाँ खुलेका अनलाइन दिगो र बलियो बनाउन विश्वसनीय र परिपक्व पत्रकारिता हुनुपर्ने सुझाव उनको थियो ।

नयाँ अनलाइन सञ्चालन गर्नुअघि काउन्सिलले नियमित अभिमुखिकरण गर्दै आएको छ । ‘भ्युअर्स’को लोभमा लागेर गलत समाचार लेख्दा देशलाई नै आघात पुग्नेतर्फ उनले सबैको ध्यानाकर्षण गराए ।

काउन्सिलका सदस्य दुर्गा भण्डारीले काउन्सिलले जारी गरेका विभिन्न निर्देशिकाबारे जानकारी दिए । उनले अपाङ्गतामैत्री सञ्चार निर्देशिका– २०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३,महिला उत्तरदायी सञ्चार निर्देशिका, २०७६ र ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका–२०७८ मा भएका प्रावधानबारे प्रशिक्षण दिए ।

अनलाइनखबर डटकमका सम्पादक बसन्त बस्नेतले विषयगत प्रस्तुति राख्दै प्रविधिको फड्कोले सबैलाई मूलप्रवाहमा ल्याउने अवसर दिएको बताए । उनले अनलाइन पत्रकारितामा विश्वसनीयताको खडेरी देखिएको, मेहनत र खोजीपना कम हुँदै गएको औँल्याएका थिए ।

काउन्सिलले जारी गरेका आचारसंहिता, पत्रकारिताका आधारभूत पक्ष नभुली कार्यक्षेत्रमा उत्रिए यो पेशामा सम्भावना अझै छ, सम्पादक बस्नेतले भने ।
बस्नेतले सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावको विषयमा समाचार लेख्दा विशेष ख्याल गर्नुपर्ने बताए ।

विभिन्न ४५ वटा अनलाइनका सञ्चालक र सम्पादक सहभागी कार्यक्रमको सहजीकरण काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले गरेका थिए ।