मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

जलवायु परिवर्तनसँग जुध्न विश्वको साझा मत जरूरी छ : अध्यक्ष दाहाल

जलवायु परिवर्तनसँग जुध्न विश्वको साझा मत जरूरी छ : अध्यक्ष दाहाल

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जलवायु परिवर्तनका कारण सिर्जित समस्यासँग जुध्नका लागि साझा प्रतिबद्धतासहितको व्यवहारिक कार्यान्वयन जरुरी रहेको बताए ।

विश्व वातावरण दिवसको अवसरमा आज यहाँ आयोजित ‘फोहर व्यवस्थापन र जलवायु सम्मेलन’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चुनौतीको रुपमा रहेको फोहर व्यवस्थापन गरी स्वच्छ वातावरण निर्माणमा जुट्नुपर्नेमा जोड दिए । ‘जलवायु परिवर्तनबाट सिर्जित समस्यासँग जुध्न पनि स्वच्छ वातावरण जरुरी रहेको छ’, उनले भने।

पानी, हावा र जलवायुको कुनै सीमा नहुने भएकाले जलवायु परिवर्तनसँग जुध्नका लागि विश्वको साझा मत जरुरी रहेको अध्यक्ष दाहालको भनाइ छ । गरिब, महिला, सीमान्तकृत वर्ग जलवायुजन्य समस्याबाट सबैभन्दा बढी जोखिममा परेको स्पष्ट पार्दै उनले नेपाल जलवायु परिवर्तनको बढी जोखिममा परेको देश भएकाले पनि समयमै थप सचेत हुन जरुरी रहेको बताए ।

जलवायु परिवर्तनको प्रभाव कृषि, खाद्य, मानव स्वास्थ्य, ऊर्जा, खानेपानीमा परेको र जीविकोपार्जनसमेत जटिल बन्दै गएको जानकारी दिँदै अध्यक्ष दाहालले बाढीपहिरोलगायत समस्याबाट मुक्त हुन नेपालको अधिकारको रुपमा रहेको जलवायु कोषबाट बढीभन्दा बढी सहयोग ल्याउनुपर्ने उल्लेख गरे ।

वातावरणमैत्री विकासको प्रक्रिया अवलम्बन गरी अगाडि बढ्नुको विकल्प नभएको उनको धारणा थियो । फोहर व्यवस्थापनका लागि आधुनिक तरिकाको प्रशोधन गरी थप सहजीकरण गर्नुपर्ने बताए । जलवायु परिवर्तनसँग जुध्नका लागि जलवायु कोषबाट नेपालले सहज रुपमा राहत रकम पाउनुपर्ने उनले उल्लेख गरे । हरियाली प्रवद्र्धन गर्दै वातावरण संरक्षणमा विशेष ध्यान दिन उनले सरकारको ध्यानाकर्षण समेत गराए ।

पूर्व वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोले जलवायु परिवर्तनबाट परेको प्रभावलाई न्यूनीकरण गर्न आम नेपालीको सहयोग जरुरी रहेको बताए । उनले जलवायु परिवर्तनको प्रभाव आमरुपमा देखिन थालेको उल्लेख गर्दै जलवायु परिवर्तनको नाममा गरिने अनावश्यक खर्च नियन्त्रण गरेर वास्तविक क्षेत्रमा खर्च गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले फोहर व्यवस्थापनमा अत्याधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने धारणा राखे । कार्यक्रममा नेपाल र भारतका जलवायु र फोहर व्यवस्थापनमा संलग्न विज्ञहरुको सहभागिता रहेको छ । सो अवसरमा जलवायु परिवर्तनबारे जानकारी दिलाउने उद्देश्यका साथ प्रकाशित ‘एबिसी फर क्लाइमेट’ नामक पुस्तकसमेत सार्वजनिक गरिएको थियो ।