मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

गणतन्त्रमा संविधान र कानुनभन्दा माथि कोही हुन सक्दैन : सञ्चारमन्त्री शर्मा

गणतन्त्रमा संविधान र कानुनभन्दा माथि कोही हुन सक्दैन : सञ्चारमन्त्री शर्मा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रात्मक शासन व्यवस्थामा संविधान र कानुनभन्दा माथि कोही पनि हुन नसक्ने बताएकी छन् ।

गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समितिद्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री शर्माले जतिसुकै माथिल्लो ओहदाको व्यक्ति भए पनि संविधान र कानुनको दृष्टिमा सबै समान हुने भएकाले सरकारले त्यसैअनुसार कानुन कार्यान्वयन गरिरहेको स्पष्ट गरिन् ।

“प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त हुँदै गर्दा गणतन्त्रले केही गर्न सकेन भनेर एक प्रकारले नकारात्मक भाष्य सिर्जना गरिएको थियो । सामाजिक न्याय, समृद्धि तथा सुशासनको पक्षमा दृढतापूर्वक काम गरेकाले व्यवस्था र परिवर्तनका पक्षमा नकारात्मक भाष्य चिर्न सरकार सफल भएको छ”, नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री शर्माले भनिन्, “सूचना र सञ्चारका क्षेत्रमा पनि हामी गुणात्मक उपलब्धि हासिल गर्न सफल भएका छौँ ।”

मुलुकले पूर्वाधार विकासमा फड्को मार्दै गएको र अभ्यासका क्रममा कुनै कमी कमजोरी भएमा दोषीको भागिदार सम्बन्धित व्यक्ति हुने तर गणतन्त्रात्मक व्यवस्था भने नहुने स्पष्ट गर्दै उनले व्यवस्थालाई सबल बनाउने सवालमा जनताबाट आउने खबरदारीलाई सरकारले ग्रहण गर्ने बताइन् ।

गणतन्त्र स्थापनापछि पूर्वाधार, शिक्षा, स्वास्थ्य, सूचना प्रविधिलगायतका क्षेत्रमा उल्लेख्य उपलब्धि भएको तथ्यलाई प्रचारप्रसार गरी नयाँ पुस्तामा सकारात्मक भाव प्रवाह गर्नुपर्ने खाँचो औँल्याउँदै मन्त्री शर्माले राससले गणतन्त्र दिवसको सन्दर्भ पारी तस्बिर प्रदर्शनी गरेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा खुशी व्यक्त गरिन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव गजेन्द्र ठाकुरले गणतन्त्रले ल्याएका उपलब्धिको प्रचारप्रसार गर्ने उपयुक्त माध्यम राससको तस्बिर प्रदर्शनी भएको बताए ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गणतन्त्र आएपछि विकास निर्माणसहित पूर्वाधारका क्षेत्रमा मुलुकमा भएको प्रगति र परिवर्तनबारे जानकारी दिने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरिएको बताए । गणतन्त्र दिवसका उपलक्ष्यमा गत वर्षदेखि सुरु गरिएको तस्बिर प्रदर्शनीलाई आउँदा वर्षहरुमा पनि निरन्तरता दिइने उल्लेख गर्दै प्रदर्शनीमा दार्चुलाको मार्मादेखि पाँचथरको धार्पुसम्मका ९५ तस्बिर समेटिएका अध्यक्ष झाले जानकारी दिए ।

राससका महाप्रबन्धक सिद्धराज राईले गणतन्त्र स्थापनापछि भएका उपलब्धिलाई तस्बिर प्रदर्शनी आयोजना गरी प्रचारप्रसार गरिएको बताए । उनले नेपालमा केही भएको छैन भन्ने भ्रम चिर्न राससले सत्य र सही सूचना सामग्री प्रवाह गर्दै आएको बताए ।

राससको केन्द्रीय कार्यालय, भद्रकालीमा आयोजित प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्रसमेतका सहायतामा निर्मित एवं निर्माणाधीन राष्ट्रिय र प्रादेशिक गौरवका आयोजनाका समेत गरी ९५ तस्बिर समावेश छन् । तस्बिर प्रदर्शनी कार्यालय समयभित्र सबैले निःशुल्करुपमा अवलोकन गर्न सक्ने प्रशासन प्रमुख शीतलप्रसाद महतोले जानकारी दिए ।

कार्यक्रममा सञ्चार मन्त्रालयका सहसचिव बाबुराम भण्डारी, रासस सञ्चालक समिति सदस्यद्वय डिल्लीराम भट्टराई र कृष्ण अधिकारी, त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका पूर्व प्रमुख प्रा चिरञ्जीवी खनाल, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, राससका नायब महाप्रबन्धकहरु, विभागीय प्रमुखहरु, महासङ्घरसङ्घरसङ्गठनरयुनियनका पदाधिकारी र सञ्चारकर्मीको सहभागिता थियो ।