नेपाल

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

चितवन । चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा छजनालाई पक्राउ गरेको छ । सोही घटनाका एक आरोपित फरार रहेका छन् । निकुञ्ज कार्यालयले आज पत्रकार सम्मेलन आयोजना गरी गत चैत २७ गते भरतपुर महानगरपालिका–६ बाट पक्राउ परेका उनीहरूलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा नवलपरासीको (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१६ बस्ने २९ वर्षीय क्रान्ति खड्का, ३८ वर्षीय लेखनाथ सुनार, सोही नगरपालिका–१५ बस्ने ५० वर्षीय छविलाल परियार, ३६ वर्षीय प्रकाश घिमिरे, बुलिङटार गाउँपालिका–४ बस्ने ३५ वर्षीय खिमबहादुर बराल र बझाङको छबिसपाथिभरा गाउँपालिका–१ बस्ने २७ वर्षीय प्रकाशराज जोशी रहेका छन् ।

Advertisement

उनीहरूमध्ये खड्काको साथबाट संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग (आखेटोपहार) एक थान फेला परेको प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो । उक्त खाग विसं २०७२ साल चैतमा चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रअन्तर्गतको गुन्द्रेढाकाहा मध्यवर्ती सामुदायिक वनमा फेला परेको उल्लेख छ ।

पुनका अनुसार पक्राउ परेका छविलाल परियार र कावासोती नगरपालिका–१५ का भैरव थापाले घाँसदाउरा गर्न भनी गएको बखत वन क्षेत्रमा एकसिङ्गे गैँडा मरी सडिगलेको अवस्थामा देखेपछि दुईजना मिलेर मृत गैँडाको खाग चोरी गरेको अनुसन्धानबाट खुलेको छ । निजमध्ये थापाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

खाग खरिदबिक्रीमा संलग्न रहेको खुलेपछि जिल्ला अदालतबाट पक्राउ अनुमति लिएका अर्का एक व्यक्ति भनेर फरार रहेका छन् ।

पक्राउ परेका र फरार रहेका गरी सातजनालाई प्रतिवादी बनाई संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग (आखेटोपहार) खरिद तथा बिक्री मुद्दामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) ऐन, २०२९ को दफा ५ (१) को (क) र दफा २६ (१) को विरुद्धको कसुर गरेको निकुञ्जको ठहर छ ।

उनीहरूलाई सोही ऐनको दफा २६ (१) बमोजिम सजाय माग गरी जिल्ला अदालत चितवनमा मुद्दा दायर गरिएको निकुञ्जका संरक्षण अधिकृत पुर्जा पुनले जानकारी दिनुभयो ।