मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको सहयोग जरुरी : प्रधानन्यायाधीश

न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको सहयोग जरुरी : प्रधानन्यायाधीश

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ  । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई भरोसायोग्य बनाउनका लागि सबैको प्रयास जरुरी भएको बताएका छन् ।

नेपाल बार एसोसिएसनको आजदेखि सुरु १६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटनमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयप्रतिको जनआस्था वृद्धि गर्न  छिटो र गुणस्तरीय न्याय भएको बताए ।

‘आमनागरिकको न्यायालयप्रति विश्वस्त हुन सक्ने वातावरण बनाउन जरुरी छ, आशङ्काहरूको निवारण गरी भरोसायोग्य न्याय हुनुपर्छ,’ प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘सबैको पहुँचमा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाका लागि सबैको सहयोग आवश्यक छ ।’

प्रधानन्यायाधीश श्रेष्ठले विशेषगरी आमनागरिकहरू विश्वस्त हुनसक्ने वातावरण निर्माण गर्ने ठोस र नतिजामूलक कार्यसम्पादन अहिलेको प्रमुख आवश्यकता भएको बताए । ‘अदालत र बार एसोसिएसन तथा न्यायाधीश र कानुन व्यवसायीहरूको भूमिका केही फरक रहे पनि सबैको लक्ष्य वा गन्तव्य न्यायको सुनिश्चितता र न्यायपूर्ण समाजको प्रत्याभूति नै हो,’ प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘आपसी सहकार्यलाई अझ सुदृढ बनाउन जरुरी छ ।’

उनले आगामी साउनदेखि लागू हुने गरी पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाको तर्जुमा भइरहेको र त्यसमा सुझाव दिन पनि नेपाल बारलगायत सम्बद्ध सबैमा आग्रह गरे । प्रधानन्यायाधीश श्रेष्ठले स्वतन्त्र न्यायपालिकाको मान्यतालाई अक्षुण्ण राख्दै संविधानले परिकल्पना गरेको न्यायपालिकाको भूमिकालाई सशक्त बनाउन नेपाल बारले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले स्वतन्त्र न्यायपालिकाबिना कानुनी शासन सुदृढ नहुने उल्लेख गर्दै संविधानले प्रत्याभूत गरेका अधिकार अहिले पनि निर्बाध रूपमा उपभोग गर्न नपाएको सुनाए । बारले अहिले पनि न्यायपालिकाको सुधारका लागि आन्दोलन गरिरहेको र धेरै प्रश्नहरूको निरुपण र समीक्षा गर्नका लागि सम्मेलनको आयोजना गरेको उनको भनाइ थियो ।

न्यायपालिकाको पुनर्संरचना गर्नका लागि बारले नौ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । कानुन व्यवसायीको हकहितका लागि २०१३ सालमा नेपाल बार एसोसिएसनको स्थापना भएको थियो । विसं २०३४ देखि बारले सम्मेलन गर्न सुरु गरेको थियो ।

यही जेठ ४ देखि ६ गतेसम्म चल्ने सम्मेलनमा देशभरबाट करिब सात हजार कानुन व्यवसायीको उपस्थित छ । ‘सक्षम कानुन व्यवसायी, मर्यादित बारः न्यायपालिकाको पुनर्संरचना लोकतन्त्र सुदृढीकरणको आधार’ भन्ने नाराका साथ नेपाल प्रज्ञा–प्रतिष्ठान काठमाडौँमा आजदेखि सुरु भएको तीनदिने सम्मेलनको राष्ट्रपति पौडेलले उद्घाटन गरेका हुन् ।