मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

आगामी बजेटमार्फत पूर्वी चितवनको विभेद अन्त्य गर्छु : प्रधानमन्त्री प्रचण्ड

आगामी बजेटमार्फत पूर्वी चितवनको विभेद अन्त्य गर्छु : प्रधानमन्त्री प्रचण्ड

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वी चितवनका लागि आगामी बजेटमा विशेष योजना पार्ने बताएका छन् । खैरहनी नगरपालिकाको १०औँ नगरपालिका स्थापना दिवसका अवसरमा सोमबार आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वी चितवनको विभेद अन्त्य गर्ने बताएका हुन् ।

‘पश्चिम चितवनको तुलनामा पूर्वी चितवनमा कम विकास भएको भन्ने यहाँका जनताले चिन्ता जनाएको आफूले पाएको छु’, प्रधानमन्त्री प्रचण्डले भने, ‘आउँदो बजेटमा पूर्वी चितवनलाई सम्बोधन हुनेछ, अब विभेद अन्त्य हुने विश्वास दिलाउँछु ।’ ‘पूर्वी चितवनका लागि उधारो भन्न चाहन्नँ, यसै वर्षको बजेटमा सम्बोधन गर्नेछु’, प्रधानमन्त्री प्रचण्डले थपे ।

मन्तव्यका क्रममा संघीय सांसद् हरि ढकाल, प्रदेशमन्त्री जेएन थपलिया, प्रदेश सांसद् सुमन सापकोटा, नगरप्रमुख शशिकुमार खनियाँ, उपप्रमुख कविता उप्रेतीले पूर्वी चितवनलाई राज्यको तर्फबाट उपेक्षा गरिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

चितवन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि ढकालले स्रोत तथा योजना बाँडफाँडमा पूर्वी चितवन विभेदमा पर्दै आएको बताए । ‘राप्ती नदीमा स्वीस प्रोजेक्टबाहेक पूर्वी चितवनमा गर्विलो योजना अहिलेसम्म परेको छैन’, सांसद् ढकालले भने, ‘योजनासमेतमा त्रुटि हुँदै आएको छ, यसको अन्त्य गर्न प्रधानमन्त्रीलाई आग्रह गर्दछु ।’ आगामी बजेटमा सिंचाइका लागि कुलो बनाउन र कंकालिकोटका लागि पूर्वाधार बनाउन योजना समावेश गर्न पठाएको उनले बताए ।

बागमती प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री जेएन थपलियाले देशलाई पाल्ने अन्नको भण्डार पूर्वी चितवनलाई विशेष प्राथमिकता दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । ‘बाढीले कृषि र पर्यटकीय क्षेत्रलाई प्रभाव पार्दै आएको छ’, मन्त्री थपलियाले भने, ‘राप्तीको ड्याक मर्मत र अन्य खोलाहरुमा तटबन्धका लागि बजेट विनियोजन गर्न आग्रह गर्दछु ।’

प्रदेश सांसद् सुमन सापकोटाले निकुञ्ज ऐन तथा मानव र वन्यजन्तु द्वन्द्वका कारण यस क्षेत्रका स्थानीयले सास्ती खेप्नु परेको भन्दै ऐन संशोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

सो अवसरमा खैरहनी नगरपालिकाले विभिन्न १२ बुँदा समेटिएको अनुरोधपत्र प्रधानमन्त्रीलाई बुझाएको छ । सुकुमबासी समस्या समाधान गर्नुपर्ने, पूर्वी चितवनमा ६ लेन सडक बनाउनुपर्ने, रामपुर कृषि क्याम्पसको पूर्वाधार बनाएर स्थानान्तरण गर्नुपर्नेलगायतको माग समेटिएको अनुरोधपत्र नगरप्रमुख शशिकुमार खनियाँले प्रधानमन्त्री प्रचण्डलाई बुझाएका हुन् ।

नगरपालिका स्थापना दिवसको अवसरमा सोमबार नै आयोजित रक्तदान कार्यक्रममा १६८ जनाले रक्तदान गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले जानकारी दिए । यसअघि ५८÷५९ पटक रक्तदान गरेका पूर्वशिक्षक होमप्रसाद तिवारीसहितले रक्तदान गरेका थिए । विसं २०७१ साल वैशाख २५ गते खैरहनी, कुमरोज, चैनपुर गाविस मिसाएर खैरहनी नगरपालिका घोषणा गरिएको थियो भने पछि कठार गाविससमेत समाहित गरिएको हो ।