मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   

आरोही कामिरिताले आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै २९औँ पटक सगरमाथाको चुचुरोमा

आरोही कामिरिताले आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै २९औँ पटक सगरमाथाको चुचुरोमा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आरोही कामिरिता शेर्पाले आइतबार बिहान २९औँ पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेका छन्। वसन्त ऋतुको जारी आरोहणमा कामिरिताले सगरमाथाको सफल आरोहण गर्दै आफ्नै नाममा रहेको कीर्तिमान तोडेका हुन्।

पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार कामिरिताले आज बिहान सगरमाथाको चुचुरोमा २९औँ पटक पाइला टेकेर विश्व कीर्तिमान बनाएका हुन्। उनका अनुसार यस यामको आरोहण सुरु भएयता आजसम्म ७० जनाभन्दा बढीले सगरमाथा आरोहण गरेका छन्। सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुन्।

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामिरिताका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ। सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामिरिता शेर्पा हुन्। अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए।

यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गत शुक्रबारदेखि सुरु भएको थियो। आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले शुक्रबार बेलुका सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो। ‘सगरमाथा हिमालचुलीको शिखरसम्म मिली बाटो निर्माण (रोप फिक्सिङ) गर्ने काम सम्पन्न भएसँगै टोलीमा संलग्न १० जना आरोहीबाट सगरमाथाको यस सिजनको पहिलो आरोहण सम्पन्न भएको थियो।

विभागको पर्वतारोहण शाखाका अनुसार यो याममा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन्। अझै एक/दुई टोली बढ्न सक्ने विभागले अनुमान गरेको छ।