मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
सूचना प्रविधि   

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका सूचना प्रवाहलाई प्रभावकारी बनाइ सूचनाको हकलाई नागरिकको दायित्वका रूपमा स्थापित गर्न आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय सूचना आयोगको १७औँ स्थापना दिवसका अवसरमा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री शर्माले सूचनाको हक सार्वजनिक निकायले चाहेका बेला दिने ऐच्छिक विषय नभई नागरिकले मागेका बेला दिनै पर्ने दायित्व भएको बताए ।

सार्वजनिक सरोकारका क्षेत्रमा नागरिकको सहज पहुँच स्थापित गरी लोकतन्त्र बलियो र दिगो शान्ति कायम गर्न सूचनाको हकको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनको भनाइ थियो ।

‘संविधानको मौलिक हकको कार्यान्वयन गर्न सूचनाको हकको प्रचलनलाई बढाएर लैजानुपर्नेछ । यसमा सरकार दृढ र प्रतिबद्ध छ । हरेक सरकारी निकायमा जनताले मागेका सार्वजनिक सरोकारका सूचना प्रवाह गर्न सूचना अधिकारीको व्यवस्था गरिएको छ,’ उनले भने, ‘सार्वजनिक सूचना सञ्चारमाध्यमबाट प्रवाह गर्न प्रवक्ताको व्यवस्था गरिएको छ । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलेसमेत यो अभ्यास गरिरहेका छन् । नागरिकले सूचना माग्न र सरकारी निकायको कार्यसम्पादन प्रभावकारी बनाउनकै लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत हेलो सरकार सञ्चालनमा पनि ल्याएको छ ।’

मन्त्री शर्माले सरकारी निकायले पारदर्शीता र सुशासनका लागि कतिपय सूचना स्वतः सार्वजनिक गर्नुपर्ने र कतिपय सूचना मागेपछि दिनुपर्ने भएकाले सरकारको मुख्य जोड सुशासन र सेवा प्रवाहलाई सरलीकरण गर्नेतिर केन्द्रित रहेको जानकारी दिए । उनले सूचनाको हकको कार्यान्वयन गर्दा सरकारको कार्यसम्पादन प्रभावकारी बनाउन सहयोगी हुने स्पष्ट पारे ।

सरकारले सोझै प्राप्त गर्न नसक्ने जनताका गुनासा, बेथिति र अनियमितालगायतका सूचना सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि त्यसलाई आधार मानेर अनुसन्धान र कारबाही प्रक्रियामा सरकारले तदारुकता देखाउँदै आएको उनको भनाइ थियो । सूचनाको हकको प्रवर्द्धनका लागि अग्रणी भूमिका निर्वाह गरिरहेका आम सञ्चारमाध्यमको भूमिकाप्रति उनले सम्मान व्यक्त गरे ।

सार्वजनिक सूचनाको अद्यावधिक र स्वतः प्रकाशनको कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले सङ्घीयताको मर्मअनुरूप सूचनाको हकलाई कार्यान्वयन गर्न कानुन पुनरावलोकन आवश्यक रहेको र प्रदेश तथा स्थानीय तहमा तद्अनुकूल कानुन नबनेको स्थितिमा सरकारले आवश्यक सहजीकरण गर्ने जानकारी दिए ।

सूचनाको हकको कार्यान्वयन प्रभावकारी बनाउन अन्तरमन्त्रालय प्रवक्ता र सूचना अधिकारीको सञ्जाल बनाइ सूचना प्रवाहलाई प्रभावकारी बनाउन आयोग तथा जनस्तरबाट प्राप्त सुझाव मनन गरी पहल गर्ने उनको भनाइ थियो ।

‘सूचनादाताको सुरक्षाको सवालमा सरकार संवेदनशील छ । जनताले सूचनाको माग गर्नुको अर्थ सरकारी अधिकारीलाई झन्झट दिन नभएर सरकारी सेवा प्रवाहलाई पारदर्शी बनाउनु हो’, मन्त्री शर्माले भने, ‘जनताले चाहेको सूचना सहजरुपमा प्राप्त नगरेमा सम्बन्धित अधिकारी दण्डित हुने कानुनी व्यवस्था भएकाले आफूले चाहेका सार्वजनिक महत्वका सूचना ढुक्क भएर माग्न म आम जनतासँग अपिल गर्न चाहन्छु ।’