मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय   
ग्लोबल   

सिड्नीको सपिङ सेन्टरमा भएको आक्रमणमा छ जनाको मृत्यु

सिड्नीको सपिङ सेन्टरमा भएको आक्रमणमा छ जनाको मृत्यु

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिड्नी । सिड्नीको एउटा व्यस्त सपिङ सेन्टरमा चक्कु बोकेको एक हमलाकारीले आक्रमण गर्दा नौ महिनाको शिशुसहित छ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।

अज्ञात हमलाकारीले धेरै मानिसमाथि छुरा प्रहार गरेको र उसलाई पत्ता लगाएर एक महिला प्रहरीले गोली हानी उसको हत्या गरेको अस्ट्रेलियाली प्रहरीले बताएको छ । ती महिलालाई राष्ट्रिय नायकका रूपमा प्रशंसा गरिएको छ ।

घटना विशाल वेस्टफिल्ड बन्डी जङ्क्सन मल परिसरमा भएको थियो । उक्त मल शनिबार दिउँसो हजारौँ खरिदकर्ताहरूको भीडले भरिएको थियो । न्यु साउथ वेल्सका प्रहरी आयुक्त क्यारेन वेबले पाँच महिला र एक पुरुषको मृत्यु भएको जानकारी दिए । उनका अनुसार एक बालकको आपत्कालीन शल्यक्रिया भइरहेको थियो ।

प्रहरीले हमलाकारी ४० वर्षीय व्यक्ति रहेको बताएको छ । यद्यपि अहिलेसम्म उसको औपचारिकरूपमा पहिचान गर्न सकिएको छैन । हमला आतङ्कवादी कार्य थियो भन्ने कुरालाई वेबले अस्वीकार गर्दै हमलाकारी एक्लैले यस्तो कार्य गरेको मान्न सकिने बताए । “यदि यो हामीले विश्वास गर्ने व्यक्ति हो भने यो आतङ्कवादी घटना होइन”, उनले भने ।

न्यु साउथ वेल्स एम्बुलेन्सका प्रवक्ताले आठ घाइतेलाई सिड्नीका विभिन्न अस्पतालमा पुर्‍याइएको जानकारी दिए । तीमध्ये एक बालकलाई सहरको बाल अस्पतालमा लगिएको थियो । प्रवक्ताले भने, “सबैलाई गम्भीर चोट लागेको छ ।”

सुरक्षा क्यामेराको फुटेजमा अस्ट्रेलियाली रग्बी लिगको जर्सी लगाएका एक व्यक्तिलाई चक्कु लिएर सपिङ सेन्टरको चारैतिर दौडिरहेको देखाइएको छ । रगतले लतपतिएका घाइतेहरू भुइँमा लडिरहेका थिए ।

प्रत्यक्षदर्शीहरूले आतङ्कको दृश्य वर्णन गरेका छन् । उनीहरूका अनुसार पसलहरू सुरक्षाका लागि दौडिरहेका थिए भने प्रहरीले उक्त क्षेत्रलाई सुरक्षित पार्ने प्रयास गरिरहेको थियो । केही मानिसले स्वयंलाई र आफ्ना परिवारलाई डरलाग्दो अपरिचितबाट बचाउन पसलहरूमा शरण लिइरहेका थिए । एएफपी