मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

राजस्व चुहावट, छली, ठगी र तस्करीविरुद्ध सरकार निर्ममतापूर्वक अघि बढ्छ : गृहमन्त्री

राजस्व चुहावट, छली, ठगी र तस्करीविरुद्ध सरकार निर्ममतापूर्वक अघि बढ्छ : गृहमन्त्री

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट, छली, ठगी, तस्करीजस्ता गैरकानुनी गतिविधि गर्नेविरुद्ध सरकार निर्ममतापूर्वक अघि बढ्ने बताएका छन् ।

गृह र अर्थ मन्त्रालयद्वारा वीरगञ्जमा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उनले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका हुन् ।

गृहमन्त्री लामिछानेले बिलबिजकको विषयमा सरकारले गम्भीरतापूर्वक लिने बताएका छन् । ‘‘अन्डरबिलिङ, गलत बिलिङको जुन समस्या देखिएको छ, त्यसलाई पूर्ण रूपमा नियन्त्रण गर्ने कदम चाल्ने रणनीतिसहित अघि बढ्नेछौँ’’, उनले भने, ‘‘बिल नबनाउने, गलत बिल बनाउने, एउटा सामान ल्याउँदा अर्को समानको बिल गराउने कार्यलाई गम्भीरतापूर्वक लिनेछौँ ।’’

गृहमन्त्री लामिछानेले राजस्व सङ्कलनमा देखिएका चुनौतीलाई समाधान गर्नका निमित्त सक्रिय भएर सरकार लागि परेको बताएका छन् । ‘‘बजारमा छ्यापछ्याप्ती अखाद्य वस्तुहरू छन् । किसानले उत्पादन गरेका दूध फालिने अवस्था सृजना भएको छ । आफ्नै उत्पादनले बजार पाइरहेका छैनन् । यो कुरा देखेर पनि प्रशासनले वास्ता गरेका छैनन् भने यो कुरामा हामीलाई कुनै पनि हालतमा सह्य हुँदैन’’, उनले भने, ‘‘म आफैँले पनि राम्रो काम गर्न सकिन भने प्रधानमन्त्रीले मलाई पनि माया गरेर राख्नुहुन्न । यो कुरा मलाई मात्रै होइन, सबैलाई लागू हुन्छ ।’’

गृहमन्त्री लामिछानेले बजारमा प्रतिबन्धित वस्तुहरू पर्याप्त मात्रामा भइरहेको प्रति असन्तुष्टि जनाउँदै सो प्रतिबन्धित आयातलाई नियन्त्रण गर्नेतर्फ अग्रसर हुन् सबै सरोकारवाला निकायलाई निर्देशन दिए । ‘‘यसअघि पनि सरकारले आयात प्रतिबन्ध लगाएका वस्तु तथा सेवा बजारमा छ्यापछ्याप्ती देखिरहेको छ । जुन बजारमा प्रतिबन्धित सामग्री छ्यापछ्याप्ती पाइन्छ । यो क्षेत्रमा जिम्मेवारी लिएर बसेका प्रशासनिक तथा प्रहरी अधिकृत पनि निरन्तर रहिरहन सक्दैनन् । त्यसैले त्यस्ता खालका विकृति र विसङ्गति अन्त्य गर्नका लागि आवश्यक काम गरिहाल्नुस् ।’’

गृहमन्त्री लामिछानेले अवैध तस्करी तथा भन्सार छलीका गतिविधिलाई कडिकडाउ ढङ्गले नियन्त्रण गर्न सुरक्षा निकाय तथा अन्य प्रशासनिक निकायलाई निर्देश दिए ।

‘‘उद्योगी÷व्यवसायीको व्यवसायलाई सुरक्षा र सुरक्षित गर्ने काम हाम्रो हो । त्यसमा कुनै पनि चिन्ता नलिनुस् । तपाईँहरूलाई कसैले पनि विभिन्न डर, धम्की र दबाब दिन सक्दैन । त्यसको ग्यारेन्टी म लिन्छु’’, उनले भने, ‘‘म वीरगञ्जमा उभिएर बहालवाला गृहमन्त्रीको हैसियतले भनिरहेको छु । नियम कानुनको अधिनमा रहँदा तपाईंहरूलाई कसैले दबाब सृजना गर्न सक्दैन । न त यहाँ गुण्डागर्दी चल्छ । न त यहाँ हप्तागिरी चल्छ । न त प्रशासनकै चल्छ । न त अमुक मान्छेकै चल्छ । बस यहाँ केबल चल्छ त कानुनीराज र विधिको शासन मात्रै चल्छ ।’’

गृहमन्त्री लामिछानेले उद्योगीरव्यवसायीलाई ढुक्क भएर उद्योगधन्दा तथा व्यापार गर्ने वातावरणको व्यवस्था गर्ने बताएका छन् । ‘‘ संविधान, ऐन कानुनअनुसार चलेका उद्योगी, व्यवसायीलाई सरकारले संरक्षण र सुरक्षा दुवै प्रदान गर्छ’’, उनले भने, ‘‘कानुन र विधिको शासन कार्यान्वयन नगर्ने जिम्मेवार निकायलाई पनि त्यसै छाड्दैनौँ ।’’ उनले कानुन र विधिअनुसार चलेका उद्योग व्यवसायलाई संरक्षण र सुरक्षा प्रदान गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।

‘‘अब हाम्रो मुख्य प्राथमिकता भनेको नै समाजमा रहेको विकृति विसङ्गतिको अन्त्य गर्ने हो’’, उनले भने, ‘‘यदि हामी आएर पनि राम्रा काम गर्न सकिएन भने हामीले समाजलाई दिन खोजेको शान्ति, सुरक्षा र समाजलाई दिन खोजेको योगदान दिन सक्दैन । त्यसैले कानुनीराज स्थापित गर्नेतर्फ सबै सक्रिय भएर लागौँ ।’’

गृहमन्त्री लामिछानेले मधेस प्रदेशबाट नै मुलुकमा नियम कानुन र थिति बसाल्ने कामको सुरूवात थालेको दाबी गरे । ‘‘अब मधेस प्रदेशमा गुण्डागर्दी र लागू औषधको तस्करी नियन्त्रण गर्दै आर्थिक नगरीको रूपमा थिति बसाल्ने छौँ ।’’