नेपाल

दम्पती हत्याको अनुसन्धान गर्न कुकुरसहितको विशेषज्ञ टोली घटनास्थल

दम्पती हत्याको अनुसन्धान गर्न कुकुरसहितको विशेषज्ञ टोली घटनास्थल


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

पर्वत । पर्वतको जलजला गाउँपालिका–२ मल्लाजमा वृद्ध दम्पती मृत भेटिएको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुरसहितको विशेषज्ञ टोली घटनास्थलमा आइपुगेको छ ।

स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र अन्दाजी ६७ वर्षीया श्रीमती कमला जिसी आज घरमै मृत अवस्थामा भेटिएका थिए । उनीहरूको हत्या भएको प्रारम्भिक अनुमानपछि प्रदेशबाट विज्ञ टोली बोलाइएको पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । जिसी दम्पतीको सोमबार राति अपरिचित व्यक्तिले हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

Advertisement

‘गण्डकी प्रदेश प्रहरी कार्यालयबाट डाक्टर र कुकुरसहितको विज्ञ टोली घटनास्थलमा आइपुगेको हो,’ प्रहरी नायब उपरीक्षक भुसालले भने, ‘घटनास्थल प्रहरीको नियन्त्रणमा छ ।’ घटना रहस्यमय देखिएकाल अनुसन्धान गर्न विशेषज्ञको टोली बोलाइएको उनले बताए ।

मृतक जिसी दम्पतीका दुई छोरा वैदेशिक रोजगारीको क्रममा कोरियामा छन् । एक छोरा म्याग्दीको बेनीबजारमा बस्दै आएका छन् । बेनीबजार पसल गरेर बस्ने जेठो छोरा रबिन जिसीले घरमा बुबा आमालाई फोन गर्दा नउठेपछि छिमेकीलाई बुझ्न लगाएका थिए । छिमेकीले घरको ढोकामा चाबी लगाएको सुनाएपछि छोरा रबिन बेनीबाट गाउँ पुगेर घरको ढोका खोल्दा बुबा आमा मृत अवस्थामा भेटिएका थिए ।

जलजला गाउँपालिका–२ का वडाध्यक्ष प्रकाश जिसीले घरमा जिसी दम्पती मात्र बस्ने गरेको बताए । ‘सोमबार बेलुका ८ः३० बजेको समयमा सूर्यबहादुरले मलाई फोन गरेर घर नजिकको पाखोमा डढेलो लागेको जानकारी दिनुभएको थियो,’ उनले भने, ‘ पाखोमा लागेको डढेलो निभाउँदै हुनुहुँदो रहेछ, मैले डढेलो निभाउन अरू मानिस चाहिन्छ ? भनेर सोध्दा, पर्दैन निभ्न लागेको छ भन्नुभएको थियो ।’

हरेक दिन बिहान आमासँग कुराकानी हुने भए पनि आज बिहान आमाको फोन नआएपछि आफूले फोन गर्दा नउठेको जेठा छोरा रबिन जिसीले बताए । फोन नउठेपछि म्याग्दीमै बस्ने माइली बुहारीसहित रबीन घर पुग्दा आमाबुबा दुवैजना वीभत्स अवस्थामा मृत भेटिएका थिए ।