मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

तल्लो तहका जनताको उत्थान नै वर्तमान व्यवस्थाको उद्देश्य हो : राष्ट्रपति पौडेल

तल्लो तहका जनताको उत्थान नै वर्तमान व्यवस्थाको उद्देश्य हो : राष्ट्रपति पौडेल

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम राष्ट्रपति रामचन्द्र पौडेलले दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत तल्लो तहका जनताको उत्थान नै वर्तमान व्यवस्थाको उद्देश्य भएकाले त्यसलाई प्राथमिकतामा राखेर काम गर्नु सरकारको कर्तव्य भएको बताएका छन् ।

आज मटिहानीमा सहिद केशव कोइरालाको प्रतिमाको अनावरण गरेपछि सहिद केशव कोइराला स्मृति प्रतिष्ठान र मटिहानी नगरपालिकाद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले निमुखा र विपन्न वर्गको उत्थानसहित लोकतन्त्र, गणतन्त्र र समानतासहितको राज्य व्यवस्था कायम गर्ने सहिदको त्यो सपनालाई रक्षा गर्नु अहिलेको आवश्यकता भएको बताए ।

‘हामीले जनताका अधिकार स्थापित गरेको संविधान पाएका छौँ । यसअनुसार दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत तल्लो तहका जनताको उत्थान गर्नुछ । यही नै हो लोकतन्त्र, यही नै हो गणतन्त्र, यही नै हो समानता,’ उनले भने ।

मधेसलाई प्रजातन्त्रको भूमिका रूपमा चित्रण गर्दै राष्ट्रपति पौडेलले नागरिक अधिकार स्थापनाका लागि सङ्घर्ष गर्ने क्रान्तिको केन्द्रमा मटिहानी रहेको स्मरण गरे । नेपालको संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयआर्जनका अवसरबाट वञ्चित नगरिने लक्ष्य लिएको उनले बताए ।

राष्ट्रपति पौडेलले राजनीतिक रूपमा जनताको सर्वोत्तम उपलब्धि ‘गणतन्त्र’ प्राप्त भएको तर त्यसको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै छ जस्तो आफूलाई लागेको बताए । ‘गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तनमात्र होइन यो त जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो । यो संस्कार, संस्कृति, आनीबानी र व्यवहार मात्रै होइन आचरणमा परिवर्तन पनि हो भनेर हामीले बुझ्न बाँकी छ,’ उनले भने ।

नेपाली जनताको ठूलो सङ्घर्षबाट आज मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको तथा अहिले हामीले लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण चरण पार गरेका छौँ भन्दै राष्ट्रपति पौडेलले वर्तमान संविधानले निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेको मात्र नभई वास्तविक अर्थमा नेपाली जनतालाई राजकीय शक्तिको मालिक बनाएको उल्लेख गरे ।

राष्ट्रपतिले प्रशासनिक रूपमा राज्यको पुनः संरचनासँगै तल्लो तहका जनताको पहुँचमा राज्यसत्ता पुगेको र अब राज्यको चरित्रको पुनः संरचना हुन र केन्द्रीकृत अधिकार तल्लो तहमा प्रत्यायोजन गर्न अझै बाँकी रहेको बताए । ‘अब यसका लागि हामीले विलम्ब गर्न हुँदैन भन्ने मलाई लाग्छ । संविधानबमोजिम प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउने कानुन चाँडो निर्माण गर्न सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई आग्रह गरेको म यहाँहरूसमक्ष स्मरण गर्न चाहन्छु’, उनले भने ।

एकदलीय शासन व्यवस्थालाई जरैसँग उखेल्ने कठिन र दुरूह सङ्घर्ष अनि त्याग र बलिदानका कैयौँ कष्टकर दिनहरूमा आफ्नो प्राणको आहुति दिएर प्रजातान्त्रिक सिद्धान्त, मूल्य, मान्यता र सङ्गठनलाई नेपाली भूमिमा सुदृढ र व्यवस्थित बनाउन जीवनपर्यन्त अविराम खटेको एक योद्धाको नाम केशव कोइराला भएको उनले उल्लेख गरे ।

‘ओखलढुङ्गाको पूर्वी गाउँ छहरे कोइराला गाउँमा जन्मनुभएका सहिद कोइराला आफ्नो धन–सम्पत्ति, नाता–कुटुम्ब सबैलाई त्यागेर प्रजातान्त्रिक आन्दोलनको मूलधारामा सहभागी हुनुभएका कुशल सङ्गठनकर्ता तथा लोकप्रिय नेता हुनुहुन्थ्यो,’ उनले भने ।

त्यसअघि प्रजातान्त्रिक योद्धा गणेश नेपालीको सालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले सुशासन, विकास, उत्पादन र रोजगारी बढाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई साकार पार्ने अभियानमा सबै एकजुट भएर लाग्न आह्वान गरे । उनले जनता आफैँले बनाएको नेपालको संविधान कार्यान्वयन गरेर नेपाली जनताले चाहेको सुशासन, विकास, उत्पादन र रोजगारीका माध्यमबाट समृद्धिको यात्रामा अघि बढ्न जरुरी भएको बताए ।

लोकतन्त्रलाई राज्य सञ्चालनको एउटा माध्यममात्र होइन जीवन दर्शन र संस्कार बनाए मात्रै आज केशव कोइरालाजस्ता सहिदहरू र गणेश नेपालीजस्ता प्रजातन्त्रका योद्धाप्रति सच्चा श्रद्धाञ्जली हुने राष्ट्रपतिले बताए । केशव कोइराला र गणेश नेपालीका सालिक देशमा लोकतन्त्र स्थापना र पुनः स्थापनाका लागि भएका सङ्घर्षबारे बुझ्ने चाहनेहरूका लागि एउटा जीवन्त इतिहास भएर रहने उनले विश्वास व्यक्त गरे ।