नेपाल

धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो

धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो


शेयर गर्नुहोस:

1.1k
Shares

  • change font
  • change font

धादिङ । बुधबार विहान धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीस्थित पृथ्वीराजमार्गबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १० पुगेको छ । बिहीबार दुर्घटनामा हराइरहेका तीन जनाको शव फेला परेपछि मृतकको संख्या १० पुगेको हो ।

कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबाहक रात्रि बस बुधबार बिहान साढे चार बजेतिर राजमार्गबाट एक सय मिटर तल त्रिशूली नदीमा खसेर दुर्घटना भएको थियो ।

Advertisement

दुर्घटनापछि हराइरहेका स्याङ्जाको वालिङ नगरपालिका–९ का विराज गैरे र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का नर्मदा सुवेदीको शव बिहीबार दिउँसो फेला परेको थियो भने दुर्घटनामा हराइरहेका बुटवलका उपमहानगरपालिका–६ का प्रकाश पाठकको शव दिउँसो फेला परेको हो । पाठकको शव बिहीबार दिउँसो दुर्घटनास्थलभन्दा करिब दुई किलोमिटर तल त्रिशूली नदीकिनारमा भेटिएको हो ।

यसअघि स्याङ्जाको वालिङ नगरपालिका–९ का विराज गैरे र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का नर्मदा सुवेदीको शव फेला परेको थियो । योसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

गैरेको शव दुर्घटनास्थलभन्दा करिब दुई सय मिटर तल र सुवेदीको शव दुर्घटनास्थलबाट करिब एक किलोमिटर तल फेला परेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोलीले खोजी गर्ने क्रममा नदीमा हराइरहेका तीनै जनाको शव फेला परेको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी बुधबार ज्यान गुमाउनेहरुमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ का रूवी श्रेष्ठ र काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० का ५५ वर्षीय बेखा पुटुवर, कपिलवस्तुका महेन्द्र चौधरी, रुपन्देहीका जोगिन्दर यादव, रामकिशोर जैसवाल, नासिर अलि र सराजुद्दीन मुसलमान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तुलाल जैसवारका अनुसार बसमा चालक र सहचालक गरी ५१ जना रहेका थिए । दुर्घटनामा घाइते बनेका र सकुशल रहेका ३९ जनाको उद्धार गरिएको थियो । बस चालक रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।