मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

१०८ कन्याबाट अनन्तश्री ब्रह्माण्डीय महायज्ञ शुभारम्भ, १५ दिनसम्म विभिन्न विषयमा सम्मेलन हुने

१०८ कन्याबाट अनन्तश्री ब्रह्माण्डीय महायज्ञ शुभारम्भ, १५ दिनसम्म विभिन्न विषयमा सम्मेलन हुने

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ बुधबारदेखि सुरू भएको छ ।

पञ्चकोटका संस्थापक एवं यस महायज्ञका परिकल्पनाकार मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको आह्वानमा सुरू भएको यस महायज्ञको मुक्तिनाथदेखि नवलपरासीको त्रिवेणीधामसम्मका नौ वर्षीया एक सय आठ कन्याबाट बुधबार महायज्ञको शुभारम्भ भएको हो । नेपालमा पहिलोपटक आह्वान गरिएको यस ब्रह्माण्डीय महायज्ञ यही फागुन २३ गतेसम्म सञ्चालन हुनेछ ।

त्यसैगरी महायज्ञअन्तर्गत बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले ५५५५ किलोको महाघण्टको उद्घाटन गर्ने कार्यक्रम रहेको महायज्ञ आयोजक मूल समारोह समितिले जनाएको छ । विश्वमा शान्तिको सन्देश दिने उद्देश्यसहित देश दर्शन गरेर सो महाघण्ट पञ्कचकोटमा स्थापित गरिएको छ ।

महायज्ञस्थलमा ३१ फिट अग्लो धान्य मौलो राखिएको छ । मौलो २५ फिट जमिनमाथि रहने र त्यसलाई धानले पुर्ने महायज्ञको कार्यक्रम रहेको स्वामी कमलनयनाचार्यले बताए । मौलो पुर्नका लागि आवश्यकपर्ने २१ हजार पाँच सय ५५ मुरी धान सङ्कल्पकर्ताहरुबाट सङ्कलन भएको र महायज्ञमा आफैँ उपस्थित भएर अनुष्ठान गरी तथा विभिन्न माध्यमबाट नेपाली दाजुभाइ दिदीबहिनीहरूले सहयोग उपलब्ध गराएको पनि उनले जानकारी गराए ।

आजैदेखि महायज्ञमा धनधान्याञ्चल सुरु भएको छ भने यहाँ ब्रह्माण्डका सबै देवीदेवतालाई आह्वान गरी यजन र पूजन गरिने र कार्यक्रम रहेको छ । त्यसैगरी यसै महायज्ञअन्तर्गत १५ दिनमा विभिन्न फरकफरक विषयमा विज्ञहरूका कार्यपत्र तथा विचारसहितका सम्मेलन पनि हुने कार्यक्रम रहेको छ ।

यसअन्तर्गत हरेक श्रीफल ९नरिवल० मा विभिन्न ५४ प्रकारका हवनीय द्रव्यहरूको मिश्रण गरी एक लाख नरिवल हवन गर्ने पनि कार्यक्रम रहेको छ । अनुष्ठानसहित हरेक दिन महायज्ञमा वैदिक पूजन जारी रहनेछ भने महायज्ञस्थलमै हरेक दिन फरकफरक विषयका बहस तथा सम्मेलन पनि जारी रहनेछ ।

जलसम्पदाको संरक्षण गर्ने विश्वव्यापी सन्देश दिनका लागि पञ्चकोटमा निर्माणाधीन कलश निर्माण यस महायज्ञका उद्देश्यमध्ये एक रहेको छ । विश्वमा सङ्कटपूर्ण बन्दै गएको जलसम्पदाको संरक्षणको सन्देश पनि हामीले नेपालबाटै दिन सकिने उद्देश्य लिइएको र यस महायज्ञमा राष्ट्रिय बहसका कार्यक्रमलाई अघि सारिएको उनले बताए ।

पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोदर शास्त्री दाहालले राष्ट्रपति, प्रधानमन्त्रीसहित राष्ट्रियरुपमा विभिन्न व्यक्तित्वहरूको उपस्थिति हुने जानकारी दिए । उनले महायज्ञका लागि देशभरबाट साधुसन्तहरुको आगमन भएको र भारतलगायतका देशबाट आउनेक्रम जारी रहेको जानकारी पनि दिए ।

महायज्ञमा पुग्ने भक्तजनहरुका लागि भोजन र बासको व्यवस्था गरिएको छ । यसका लागि विभिन्न व्यक्ति एवं सङ्घसंस्थाले स्वतःस्फूर्तरुपमा सहयोग गर्नेक्रम जारी रहेको महायज्ञका आयोजकले जनाएका छन् ।