मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि सरोकार समितिको निर्देशन

सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि सरोकार समितिको निर्देशन

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि तीन तहका सरकार र अन्तरमन्त्रालय समन्वय बढाउन सरकारलाई निर्देशन दिएको छ ।

सङ्घीयताको कार्यान्वयनका लागि सातै प्रदेशका सम्बन्धित निकाय र विज्ञसँगको छलफलका आधारमा तयार गरिएको अध्ययन प्रतिवेदनलाई समितिको आजको बैठकमा समीक्षापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिइएको हो ।

समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले सङ्घ, प्रदेश, स्थानीय तहबीचको अधिकार र कार्य क्षेत्रका विषयमा बन्नुपर्ने कानुन र संरचना निर्माण हुन बाँकी भए आपसी समन्वयका आधारमा चाँडो बन्नुपर्ने भनी सरकारलाई सुझाव र निर्देशन दिइएको जानकारी दिइन् ।

सभापति रावलले संविधानमा व्यवस्था भएका राष्ट्रिय समन्वय परिषद्, प्रदेश समन्वय परिषद्, प्रदेश र स्थानीय तहसँग जोडिएका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेका विषयगत समिति, सरकारका अन्तरमन्त्रालयका समन्वय प्रभावकारी नभएको अध्ययनमा पाइएको बताइन् ।

उनले बुधबार बस्ने राष्ट्रिय समन्वय परिषद्को बैठकमा साझा अधिकारको सूचीमा रहेका विषय निजामती कर्मचारी व्यवस्थापन, प्रदेशमा प्रहरीको समायोजनका विषयमा ठोस निर्णय हुनुपर्ने सुझाव पनि दिएको जानकारी दिइन् ।

समितिले मुलुकको आवश्यकतालाई पहिचान गरी योजनाको प्राथमिकीकरण, अनावश्यक प्रभाव र पहुँच रोक्न, स्पष्ट मापदण्डका आधारमा मात्रै योजना र बजेट तर्जुमा र अनुगमन गर्न, वित्तीय सङ्घीयता कार्यान्वयनको प्रभावकारी कार्यान्वयन गर्न पनि निर्देश गरेको छ ।