मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

ठूला आयोजना निर्माण सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

ठूला आयोजना निर्माण सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूला पूर्वाधार आयोजना निर्माणको काम सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

नेपाल इन्जिनियर्स एसोसिएसनको काठमाडौँमा आज आयोजित १६ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले आधुनिक विकासको मुख्य प्राथमिकता पूर्वाधार क्षेत्रमा हुनुपर्ने बताए।

प्रधानमन्त्री दाहालले सडक, लोकमार्ग, ऊर्जा, विद्युत्, सञ्चार, विमानस्थल, सिँचाइ, खानेपानी तथा ढल निकासका ठूला परियोजना गुणस्तरीय निर्माणद्वारा तोकिएकै समयमा सम्पन्न गर्न सके मात्र आर्थिक विकासको ढोका खुल्ने बताए। पूर्वाधार निर्माणका काममा सुस्तता हुँदा मुलुकको समग्र विकास र आर्थिक समृद्धिको काम पनि सुस्ताउने भएकाले समयमै काम सकेर लाभ लिने गरी ठूला आयोजना निर्माण गरिनुपर्नेमा उनले जोड दिए।

‘ठूला पूर्वाधारको अभावमा राज्यको ठूलो हिस्सा विकासको प्रतिफलबाट टाढा छ। विकास निर्माण गर्नु भनेको लामो तर जटिल प्रक्रिया हो। यसले समान्य रुपमा गति लिन सक्यो भने कुनै पनि आयोजना तोकिएको अवधिभित्र सम्पन्न गर्न सकिन्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘अनावश्यक विवाद र झमेलाका कारण विलम्ब भइदिँदा समय सीमाभित्र सम्पन्न हुन नसकेका विकास आयोजनामा लागत बढ्दै जाने र राज्यलाई थप आर्थिक भार पर्न गएको अवस्था अहिले देखिन्छ।’

दश हजार आठ सय मेगावाट विद्युत् उत्पादन क्षमताको कर्णाली चिसापानी, चार सय केभी क्षमताका प्रशारण निर्माणलाई सरकारले महत्त्वका साथ अघि बढाइरहेको प्रधानमन्त्री दाहालको भनाइ छ। विकास निर्माणका काममा अहिले देखिएका विभिन्न खालका कठिनाइलाई चिर्दै अब्बल व्यवस्थापकीय ढङ्गबाट आफ्नो ज्ञान र सीपको सदुपयोग गरेर समयमै परिणाम निकाल्न सकिएमा मात्र जनताको मुहारमा खुसी ल्याउन सकिने उनले बताए। इन्जिनियरको क्षमता अभिवृद्धि, पेसागत विकास तथा उन्नयनका लागि इन्जिनियर्स स्टाफ कलेज स्थापना गर्ने विषयमा सरकार सकारात्मक रहेको प्रधानमन्त्री दाहालले बताए।

प्रधानमन्त्रीका रूपमा आफ्नो तेस्रो कार्यकालको पहिलो वर्षमा भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूति दिलाउने र अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै अगाडि बढिरहेको उनले उल्लेख गरे। नेपाल सङ्क्रमणकाल पार गरी अब स्थायित्वतर्फ अग्रसर भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राजनीतिक दलले नागरिकसँग गरेका प्रतिबद्धता र वाचा पूरा गर्ने चुनौतीपूर्ण अवसर आफूले प्राप्त गरेको समेत बताए।