काठमाडौँ । सरकार गठन भएको एक वर्षमा पर्यटन क्षेत्रमा निकै उपलब्धि हासिल भएको छ । कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रले यो अवधिमा निकै फड्को मारेको छ ।
कोरोना महामारीले करिब तीन वर्ष थला परेको नेपालको पर्यटन क्षेत्रले यो एक वर्षको अवधिमा निकै उपलब्धि हासिल गरेको छ । सरकारले आर्थिक विकासको प्रवल सम्भावना रहेको पर्यटन क्षेत्रको विकासलाई विशेष जोड दिएसँगै यो क्षेत्रले फड्को मार्न थालेको हो ।
खासगरी यो अवधिमा पर्यटन पूर्वाधारको विकासले गति लिएको छ । यसबीचमा राष्ट्रिय गौरवका आयोजनामध्येका दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन् । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलले पनि आफ्नो क्षमता विस्तार गरेको छ ।
यसैगरी यो अवधिमा विभिन्न अन्तर्राष्ट्रिय चेन होटलहरुसमेत सञ्चालनमा आएका छन्। सरकारले विसं २०३५ सालको पर्यटन ऐनमा समेत समसामयिक संशोधनको तयारी गरेको छ । यो अवधिमा पर्यटक आगमनमा समेत वृद्धि भएको छ । सन् २०२३ को डिसेम्बरको मध्यसम्ममा करिव १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
सरकारले पर्यटन क्षेत्रको विकासको निम्ति पूर्वाधार विकासमा जोड दिएको भए पनि त्यसलाई कार्यान्वयनमा ल्याउन केही नीतिगत तहमा काम गर्न आवश्यक रहेको यस क्षेत्रका विज्ञहरुको सुझाव छ ।
यस्तै, पर्यटन क्षेत्रको विकासलाई सरकारले चालु आर्थिक वर्षको बजेटमै विशेष प्राथमिकतामा राखेको छ । त्यसका लागि दुई अर्ब १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
साथै सरकारले सन् २०२३ देखि सन् २०३२ सम्मलाई पर्यटन दशकका रुपमा मनाउने घोषणा गदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारात्मक कार्यक्रमहरु गर्दै आएको छ ।
प्रतिक्रिया