मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
ग्लोबल   
टेक्सस   

चैते दशैंमा ड्यालसमा नवाह महापुराण हुने

चैते दशैंमा ड्यालसमा नवाह महापुराण हुने

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । आउँदो अप्रिल ९ देखि १७ तारिकसम्म अमेरिकाको ड्यालसमा नवाह महायज्ञ पुराण सञ्चालन हुने भएको छ । नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रको आयोजनामा हुन लागेको महायज्ञमा पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गर्नुहुने आयोजकले जानकारी दिएका छन् । महायज्ञ चैते दशैंको सेरोफेरो पारेर चैत्र शुक्ल प्रतिपदादेखि रामनवमीको दिनसम्म सञ्चालन हुनेछ । यसैबीचमा अप्रिल १३ तारिक नेपाली सम्वत् अनुसार नयाँ वर्ष २०८१ पनि सुरु हुनेछ । महायज्ञ भव्य रुपमा सम्पन्न गर्नका लागि आइतबार भएको वृहद भेलाले नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रकी अध्यक्ष सीता सापकोटाको संयोजकत्वमा मुल समिति गठन गरिएको छ । मुल समितिका अतिरिक्त २३ वटा उपसमितिहरु गठन भएर संयोजकहरु तोकिएका छन् ।

अमेरिकाको ड्यालस फोर्टवर्थ, वेको, डेन्टन लगायतका क्षेत्रमा बसोबास गर्ने कोही पनि नछुटुन् भन्ने उद्वेश्वले हरेक घरमा निम्तो पुर्याउने, व्यापक सहभागितामा नवाह महायज्ञ गर्ने लक्ष्य समितिले लिएको छ । ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा मात्र झण्डै ८० हजार नेपालीहरु बसोबास गर्ने अनुमान छ । कोरोनाकाल पछि न्यूयोर्क, क्यालिफोर्नियाबाट हजारौं परिवार बसाई सरेर टेक्सस आएका छन् । ७० लाख डलरको लागतमा बनिरहेको पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तुपाका लागि सहयोग जुटाउने मुल उद्वेश्यले नौ दिने नवाह लगाउन लागिएको हो । मन्दिरको पहिलो चरणको काम सम्पन्न भएपनि दोस्रो र तेस्रो चरणमा पशुपतिनाथ र बौद्ध स्तुपाको छुट्टै संरचना, विश्रामस्थल, सामुदायिक हल लगायतका विशाल संरचनाहरु बाँकी नै छन् । आइतबारको वृहद भेलामा बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष डा. प्रेम अधिकारीले हरेक परिवारमा निम्ता पुर्याउनका लागि सिटी अनुसार जिम्मा दिन प्रस्ताव गरेका छन् ।

यसपटकको नवाह महायज्ञमा ड्यालस फोर्टवर्थ क्षेत्रका कुनै घर, अपार्टमेन्टबाट पनि नेपालीहरु नछुटुन् भन्ने उद्वेश्यले नेपालीहरुको विवरण संकलन गरेर निम्ताको विशेष प्याकेट बनाएर पठाउने तयारी मन्दिरले गरिरहेको छ । आइतबार सीता सापकोटाको अध्यक्षतामा मुल समिति, डा. मुरल अधिकारीको अध्यक्षतामा दान दातव्य संकलन समिति, भुवन आचार्यको अध्यक्षतामा आर्थिक समिति, बेदराज बस्नेतको अध्यक्षतामा दातालाई सम्मान तथा व्यबस्थापन समिति, सुरेशचन्द्र पोखरेलको अध्यक्षतामा सोसल मिडिया व्यबस्थापन समिति, रमेश पोखरेलको अध्यक्षतामा निम्ता समिति, डा. प्रेम अधिकारीको अध्यक्षतामा आन्तरिक समन्वय समिति, कोषाध्यक्ष आमोद श्रेष्ठको अध्यक्षतामा आर्थिक रेकर्ड समिति, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेको अध्यक्षतामा पब्लिक रिलेसन समिति र भेषराज शिवाकोटीको अध्यक्षतामा आध्यात्मिक समन्वय समितिहरु गठन भएका छन् । नवाहको सदस्य सचिवमा छबीमणि चापागाईलाई मनोनयन गरिएको छ । महापुराण युलेस स्थित मन्दिरमा हुनेछ ।