मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

चीनद्वारा भूकम्पपीडितलाई प्रदान गरिएको राहत सामग्री ग्रहण

चीनद्वारा भूकम्पपीडितलाई प्रदान गरिएको राहत सामग्री ग्रहण

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीन सरकारले भूकम्पपीडितका लागि प्रदान गरेको राहत सामग्री ग्रहण गरेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित आपत्कालीन सहयोग हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत छन् सोङले चीन सरकारले प्रदान गरेका राहत सामग्री उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

चीनले पीडितका लागि प्रदान गरेका उच्च गुणस्तरका ब्ल्याङ्केट, टेन्टलगायत सामग्री चीनको छेन्दु विमानस्थलबाट दुईवटा विमानमार्फत आज पोखरा विमानस्थलमा ल्याइएको हो ।

सहयोग हस्तान्तरण समारोहमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले नेपाललाई सङ्कट पर्दा जहिले पनि चीनबाट सहयोग प्राप्त हुने गरेको बताए । नेपाल र चीनबीचको इतिहासदेखिको सम्बन्ध सार्वभौमसत्ता, स्वतन्त्रता र पारस्परिक हितमा आधारित रहेको उनले बताए ।

“नेपालको आर्थिक विकाससँगै सङ्कटको बेला जहिले पनि चीनले सहयोग गर्दै आएको छ । चीन सरकारले हामीलाई सङ्कटका समयमा सहयोग र सहानुभूति प्रदान गर्दै आएको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “विसं २०७२ को भूकम्प, कोभिड महामारी र अहिले जाजरकोटमा गएको भूकम्पका बेला पनि चीन हामीसँगै छ ।”

नेपालका लागि चिनियाँ राजदूत सोङले दुई देशबीचको सम्बन्ध मित्रताको रहेको जनाउँदै सङ्कटमा पनि एकअर्कालाई सहयोग गर्दै अघि बढेको बताए । केही दिनअघि गएको भूकम्पबाट भएको क्षतिप्रति उनले दुःख व्यक्त गरे । “दुःखको बेला नेपाली जनता र नेपाल सरकारसँग चीन साथमा छ,” उनले भने ।

चिनियाँ राष्ट्रपतिले नेपालमा भूकम्पबाट भएको क्षतिप्रति घटनालगत्तै नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई समवेदना सन्देश पठाएर पीडित परिवारप्रति सहानुभूति प्रदान गरेका राजदूत सोङले जानकारी दिए ।

चीनद्वारा भूकम्पपीडितका लागि प्रदान गरिएका राहत सामग्री सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले जानकारी दिए ।