मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार छैन : उपप्रधानमन्त्री श्रेष्ठ

प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार छैन : उपप्रधानमन्त्री श्रेष्ठ

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको समृद्धि, समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनुपर्ने बताएका छन् ।

६८औँ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले मुलुकको आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यबोधले समग्र मुलुकको समृद्धि, कानुनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सकिएको बताए ।

गृहमन्त्री श्रेष्ठले नागरिकको सुरक्षा सुनिश्चित गर्न चाडपर्वलगायत आफ्नो व्यक्तिगत र पारिवारिक दायित्वलाई थाती राखी देश र जनताको सुरक्षामा तैनाथ प्रहरी कर्मचारीको समर्पणभाव हरेक पुस्ता र पिँढीका लागि प्रेरणाको स्रोतका रूपमा रहने उल्लेख गरे ।

उनले साधन स्रोतको अभावमा पनि राज्यले सुम्पेको जिम्मेवारीलाई नेपाल प्रहरीले निष्ठापूर्वक तथा प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह गर्दै आएको बताए ।

“आमनागरिक र राज्यले सामना गरेको हरेक विषम परिस्थितिलाई निस्तेज तुल्याउन नेपाल प्रहरीका प्रत्येक सदस्यले पेसागत कर्तव्यपरायणतामा उच्च मनोबलका साथ खटिँदै आएका छन्”, गृहमन्त्री श्रेष्ठले भने । नवीनतम् आविष्कार र नयाँ प्रविधिको कारण बढ्दै गएका अपराधका नयाँ शैलीविरुद्ध तदारूकता बढाउँदै वर्तमान र भविष्यमा हुने सक्ने अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्न सक्ने गरी नेपाल प्रहरी हरदम तयारी अवस्थामा रहनुपर्नेमा उनले जोड दिए ।

निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउनाका साथै राज्यमा दण्डहीनताको अन्त्य हुने बताउँदै गृहमन्त्री श्रेष्ठले भने, “प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार छैन । कुनै स्वार्थ तथा शक्तिको प्रभाव वा दबाबमा नपरी निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्ने मेरो पूर्ण विश्वास रहेको छ ।”

गृहमन्त्री श्रेष्ठले शहादत प्राप्त अमर प्रहरी कर्मचारीको योगदानलाई स्मरण गर्दै ती सपुतप्रति श्रद्धासुमन अर्पण गर्नाका साथै घाइते भएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना गरे । नेपाल प्रहरीको निःस्वार्थ सेवा र अटल समर्पण भावलाई अँगाल्दै देश र नागरिक सुरक्षाका क्रममा शहादत प्राप्त अमर प्रहरीका परिवारजनको पीडाका क्षणमा सरकार सदैव साथमा रहने उनको भनाइ थियो ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नागरिकमैत्री प्रहरीका रूपमा साङ्गठनिक छवि उजागरमा केन्द्रित रहन सकल दर्जाका प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिए । नागरिकमैत्री प्रहरीका रूपमा पारदर्शी, जवाफदेही, सेवाग्राही र नागरिक स्वीकार्य, मानव अधिकारको संरक्षण र सम्मानको कसीमा प्रहरीका काम कारबाही उत्कृष्ट हुने उनको भनाइ थियो ।

कार्यक्रममा गृहमन्त्री श्रेष्ठले प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नाका साथै कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त गर्ने प्रहरीका परिवारलाई कदरपत्र प्रदान गरे । उनले प्रहरी दिवस–२०८० स्मारिका र नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताको नामावलीका साथै प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषको विवरण पुस्तिकासमेत लोकार्पण गरेका थिए ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष लक्ष्मी कुँवरले अमर प्रहरीका परिवारलाई सद्भाव सहयोग प्रदान गरेका थिए ।

समारोहमा गृहसचिव दिनेश भट्टराई, अवकाश प्राप्त महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षकहरु, नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष तथा पदाधिकारी लगायतले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए ।