मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

‘करप्सन रिफ्लेक्सन नेपाल २०२३’ सार्वजनिक

‘करप्सन रिफ्लेक्सन नेपाल २०२३’ सार्वजनिक

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा भ्रष्टाचार बढ्नुमा अदूरदर्शिता, अव्यवस्थित र कमजोर राजनीतिक दल, नेता र कर्मचारीतन्त्र प्रमुख कारक रहेको एक अध्ययनले देखाएको छ ।

आज अल्टरनेटिभ फाउण्डेशनले यहाँ सार्वजनिक गरेको ‘करप्सन रिफ्लेक्सन नेपाल, २०२३’ प्रतिवेदनमा परम्परागत राजनीतिक कार्यशैली, नातावाद र परिवारवाद, लोभ र छिट्टै धनी बन्ने आकांक्षालाई भ्रष्टाचारको कारण उल्लेख गरेको छ ।

प्रतिवेदनमा नीतिगत कमजोरी, कर्मचारीतन्त्रको ढिला सुस्ती, अख्तियारवालाको गैरजिम्मेवारीपन, ढिलो न्याय, अनुचित राजनीतिक नियुक्ति, कमजोर विधिको शासन, सांस्कृतिक प्रभाव र नागरिक जागरुकताको कमीलाई पनि भ्रष्टाचारका स्रोतका रुपमा उल्लेख गरिएको छ ।

फाउण्डेसनले अध्ययनलाई ‘राजनीति र भ्रष्टाचार’ र ‘सरकार र भ्रष्टाचार’ गरी दुई भागमा विभाजन गरेको छ । एक हजार जनामा गरिएको उक्त अध्ययनमा बहुसङ्ख्यक उत्तरदाताले राजनीतिक दलले चुनावी घोषणापत्र कार्यान्वयन नगरेको बताएको पाइएको छ ।

अध्ययन प्रतिवेदनमा ७१ दशमलव दुई प्रतिशत उत्तरदाताले राजनीतिक दलले चुनावी घोषणापत्र लागू नगरेको तथा ७१ प्रतिशतले राजनीतिक नेताको व्यवहार र कार्यशैलीलाई उपयुक्त नमानेको उल्लेख छ । साथै ७१ दशमलव सात प्रतिशतले राजनीतिक नेता भ्रष्टाचारमा मुछिएको, ६३ दशमलव सात प्रतिशतले राजनीतिक पार्टीसमेत भ्रष्टाचारमा मुछिएको, ७० दशमलव आठ प्रतिशतले राजनीतिक दल र नेताले समाजमा अपराधको संरक्षण गरेको र ८९ दशमलव एक प्रतिशतले राजनीतिक दलमा रुपान्तरण अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन् ।

भ्रष्टाचारसम्बन्धी अनुभवजन्य नागरिक धारणा सर्वेक्षण, विगतका अध्ययन प्रतिवेदन र तथ्याङ्कको समीक्षा र विश्लेषण तथा सरोकारवालासँगको छलफल र अन्तरक्रियालाई अध्ययन विधिका रुपमा अवलम्बन गरिएको छ । अध्ययन प्रतिवेदनको नतिजाले तीनै तहका सरकार र नागरिकलाई भ्रष्टाचारविरुद्ध गम्भीर बनाउन सहयोग पुग्ने फाउन्डेसनको दाबी छ ।

प्रतिवेदनले भ्रष्टाचारले मुलुक आक्रान्त भइरहको अहिलेको समयमा राजनीतिक पार्टीको अग्रगामी रुपान्तरण, लोकतान्त्रिक गणतन्त्रको थप सवलीकरण र सूचना–प्रविधिको अनिवार्य प्रयोगमार्फत् सुशासन मजबुद गर्न सके मुलुक विकास तथा राजनीति र राज्यप्रति नागरिक विश्वासमा बढोत्तरी हुने निष्कर्ष निकालेको छ ।

अध्ययनका संयोजक डा जनकराज साहले नेपालमा भ्रष्टाचारको प्रतिबिम्ब कस्तो छ भन्ने सन्दर्भमा जनता, सरोकारवालाको आवाजलाई सरकार समक्ष पु¥याउन प्रतिवेदनले सहयोग पुग्ने बताए । फाउन्डेसनका अध्यक्ष प्रकाश विकल्पले खोज अनुसन्धानकै लागि फाउन्डेसन स्थापित भए पनि मुलुकको आवश्यकताअनुसार भ्रष्टाचारसम्बन्धी तथ्याङ्क र धारणलाई प्रकाश पारेको बताए ।