मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   
नेपाल   
मुख्य समाचार   

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसँग भेटघाट

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसँग भेटघाट

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । अमेरिका भ्रमणमा रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट गरेका छन् । मेयर कोइरालाले सिनेटर माइकल जियानारिससहितका उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट गरेका हुन् ।

सिनेटर माइकलसँगको भेटमा नेपालको राजनैतिक अवस्था, विकासमा स्थानीय सरकारको भूमिका, ऐन–कानुनको कार्यान्वयनमा देखिने समस्यालगायतका विषयमा छलफल भएको थियो ।

यस्तै, मेयर कोइरालाले न्यूयोर्क सिटी शिक्षा समितिका अध्यक्ष एवं न्यूयोर्क राज्यका सेनेटर जोन सी लिउसँग पनि भेटघाट गरे । सो अवसरमा मेयर कोइरालाले विराटनगर महानगरपालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए ।

उनले शिक्षा क्षेत्रको विकासका लागि सहयोगको आग्रहसमेत गरे । शिक्षाको विकासबिना कुनै पनि क्षेत्रको विकास नहुने बताउँदै मेयर कोइरालाले सीमित स्रोत र साधनका बाबजुत पनि महानगर शिक्षाको विकासमा लागेको जानकारी गराए ।

यस्तै, मेयर कोइरालाले न्यूयोर्क विधानसभाका प्रथम फिलिपिनो अमेरिकी स्टिभन रागासँग पनि भेटघाट गरेको मेयर कोइरालाका अन्तर्राष्ट्रिय सल्लाहकार सोमनाथ घिमिरेले जानकारी दिए । नेपालको इतिहासमा मेयरस्तरबाट अमेरिकी निर्वाचित पदाधिकारीहरूसँग भेटघाट गर्ने कोइराला नेपालको पहिलो मेयर भएको घिमिरेले दाबी गरे ।

मेयर कोइराला संयुक्त राज्य अमेरिकास्थित स्थानीय सरकारको व्यावसायिक विकास र सबलीकरणको क्षेत्रमा कार्य गर्ने संस्था इन्टरनेसनल सिटी म्यानेजमेन्ट एसोसिएसन (आइसिएमए) ले आयोजना गरेको सेमिनारमा सहभागी हुन यही असोज १० गते अमेरिका गएका थिए । ४० देशभन्दा बढीका स्थानीय सरकारका प्रमुख र प्रतिनिधिहरू सहभागी समिनारमा मेयर कोइरालाले सहभागिता जनाइसकेका छन् ।

टेक्सासमा भएको सेमिनारमा सहभागी भएर मेयर हाल न्यूयोर्कमा भेटघाट र छलफलमा व्यस्त रहेका छन् । उनले अमेरिकामा रहेका गैरआवासीय नेपालसहित विराटनगरमा जन्मिएर अमेरिकामा बसोबास गर्नेहरूसँग पनि भेटघाट गरेका छन् । सो अवसरमा मेयर कोइरालाले विराटनगरको शिक्षा, स्वास्थ्य र भौतिक संरचनाको विकासमा सहयोग गर्न विराटनगरवासीलाई आग्रह गरे ।