मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
बिश्व घटना   
मुख्य समाचार   

परराष्ट्रमन्त्री साउद र इजरायलका विदेशमन्त्री एली कोहेनबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री साउद र इजरायलका विदेशमन्त्री एली कोहेनबीच टेलिफोन वार्ता


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग मंगलबार टेलिफोन वार्ता गरेका छन् । त्यस क्रममा उनले आतङ्कवादी समूह हमासको आक्रमणमा १० जना नेपालीका साथै इजरायली एवं अन्य देशका निर्दोष नागरिक मारिएकामा गहिरो दुःख व्यक्त गरे ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री साउदले नेपाल सरकार र जनताका तर्फबाट आफ्ना इजरायली समकक्षीप्रति सहानुभूति एवं ऐक्यबद्धता प्रकट गर्दै आतङ्कवादका हरेक रुप र प्रकटीकरणका विरुद्ध नेपाल दृढताका साथ उभिएको बताए । साथै उनले उक्त आक्रमणको निन्दा गरे ।

Advertisement

परराष्ट्रमन्त्री साउदले ज्यान गुमाएका नेपालीको शव नेपाल पठाउन आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गर्नाका साथै घाइते भएका चार जनाको उपचार तथा सम्पर्कविहीन भएका एक नेपालीको अवस्था पत्ता लगाइदिन विदेशमन्त्री कोहेनसमक्ष विशेष अनुरोध गरे । इजरायली सेनाले सुरक्षित स्थानमा स्थानान्तरण गरेका नेपालीलाई आवास, भोजन एवं सुरक्षाको प्रबन्ध गर्न पनि उहाँले कोहेनसँग आग्रह गरे ।

आफ्नो मन्त्रालयले तेलअबिबस्थित नेपाली राजदूतावाससँगका समन्वयमा इजरायलमा रहेका नेपालीको विवरण सङ्कलन गरिरहेको तथा घर फर्कन चाहनेहरूको पूर्ण विवरण तयार भएपछि सहजीकरणका लागि पुनः इजरायल सरकारसँग आग्रह गर्ने जानकारी मन्त्री साउदले आफ्ना समकक्षी कोहेनलाई दिएका थिए ।

प्रत्युत्तरमा इजरायलका विदेशमन्त्रीले नेपाल सरकार, नेपाली जनता र मृतकका परिवारप्रति गहिरो सहानुभूति प्रकट गर्दै आतङ्कवादीका कारण आफ्नो देश कठिन अवस्थामा रहेको जानकारी मन्त्री साउदलाई दिएको मन्त्रालयले बताएको छ ।

मन्त्री कोहेनले १० जना नेपाली नागरिकको शव नेपाल पठाउन, इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न तथा स्वदेश फर्कन चाहने नेपालीलाई इजरायल सरकारले उच्च प्राथमिकताका साथ सहयोग गर्ने बताएको उक्त मन्त्रालयले जनाएको छ ।

शेयर गर्नुहोस:

135
Shares